सिंगारु नाच्ने ८ वर्षीय ‘प्रनिक’ 

तुलसीपुर, १८ मंसिर ।
नयाँ पुस्ता सिंगारु नाच्न छोडि सके । पहिलेका बुढापाकाले नै सिंगारु नाच धानिरहेको अवस्था छ, भन्ने गुनासो आइरहेको अवस्थामा नयाँ पुस्ता पनि यो नाचमा रमाउन चाहिरहेको छ, भन्ने एउटा उदाहरण बनेका छन्–तुलसीपुर–९ बेलुवा निवासी ८ वर्षीय प्रनिक बुढा । उनी हरेक कार्यक्रम होस, वा मेला पर्व, पुजा आजामा सिंगारु नाच्दै आएका छन् । उनी बुढापाकासंगै स्टकोट, दौरा सुरुवालमा सजिएर नाच्दै आएका छन् ।

उनका वुवा कृष्ण बुढा पनि सिंगारु नाच्दछन्, भने मादल, बाँसुरी सबै बजाउदछन् । वुवाको देखेर आफूलाई पनि नाच्न मन लागेको प्रनिकले बताए ।“मेला,पुजामा वुवा नाच्न जानुहुन्छ, अनि मलाई पनि नाच्न मन लाग्छ”,उनले भने “अनि दौरा सुरुवाल लगाएर वुवासंगै नाच्न जान्छु ।” स्थानीय जीवनप्रेमी एकाडेमीमा कक्षा २ मा अध्ययनरत प्रनिक सानै देखि सिंगारु नाचमा रुची राख्ने गरेको उनका वुवा कृष्णले बताए । “आफै नाच्न रुची राख्छ, आफै नाच्न खोज्थ्यो”, उनले भने “त्यही भएर मैले पनि नाचगानमा संगै लैजाने गरेको छु ।”


यसरी पुर्खाहरूले नाच्ने नाच नाचेपछि आफूहरूलाई पनि खुसी लाग्ने गरेको उनले बताए । यो नाच नयाँ पुस्ताले नाच्न छोडेको भन्दै यसलाई संरक्षण गर्न नयाँ पुस्ता लाग्नु पर्ने उनको भनाई छ ।  सिंगारु नाच यस क्षेत्रको पहिचानका रुपमा लिइन्छ । पहाडी जिल्लाहरूमा यो नाच बढि नाच्ने चलन छ । तर, दाङमा पनि पहाडी जिल्लाहरूबाट बसोबास गरेर आएकाहरू धेरै रहेकाले यो नाच नाच्ने गरिन्छ । साभारः अग्रिम साप्ताहिक