लमहीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु, लैंगिक हिंसा अन्त्यमा सबैको जोड

प्रिया स्मृती गजमेर
लमही, १२ मंसिर ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागिता अनिवार्य गरेको भए पनि यसको प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउनु भयो । लैंगिक हिंसाको अन्त्य र हिँसा विरुद्धको अभियानमा सबैे एकजुट भएर लाग्नुपर्ने बताउँदै व्यक्ति, घर, परिवारबाटै हिंसा न्युनीकरणमा आ–आफ्नो तहतप्काबाट लाग्नु पर्ने उहाँको धारणा छ ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउनु भयो । हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको उपप्रमुख योगीको भनाई छ । १६ दिने अभियानले समाजको परिवर्तन र रुपान्तरणमा सहयोग गर्नेछ भन्नेमा मलाई विश्वास छ’– उपप्रमुख योगीले भन्नु भयो ।

लमहीमा आयोजित कार्यक्रममा निरासिज फाउन्डेसन युथ नेपालकी अध्यक्ष निर्मला चौधरी, लमही चेम्बर अफ कर्मसका अध्यक्ष शितल भुसाल, लमही नगरपालिका स्तरीय महिला संजालकी अध्यक्ष विना भुसाल, नारी एकता समूह लमहीकी अध्यक्ष कृष्णा चौधरी, मनकामना महिला विकास संस्थाकी अध्यक्ष विजया खड्का, महिला मानव अधिकार रक्षक संजाल लमहीकी अध्यक्ष जया रावल लगायतका सामाजिक अभियान्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

योगमाया शाही, दीपा खत्री सहित गुरुकुल एकेडेमी लमही, रोजी बड्स बालबाटिका स्कुलका बालबालिकाले सडक नाटक र निरासिज फाउन्डेसनका बालिकाहरुले सचेतना सम्बन्धि नृत्य प्रस्तुत गर्नु भएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको छ ।


आदर्श नमूना माध्यामिक विद्यालय देउपुर, गोरखा मोडेल सेकेण्डरी स्कुल, रोजी बड्स बालबाटिका स्कुल, ज्योतिषमति विद्यापीठ, देउखुरी पब्लिक, नेपाल रेडक्रस लमही, देउखुरी सामुदायीक सेवा केन्द्र, मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था, लमही बचत रातोडांडा आमा समूह, फरक पहिचान, वडा प्रहरी कार्यालय लमही, महिला जागृति आमा समूह लगायत १ दर्जन बढी सामाजिक संघ ÷ संस्थाले र्याली निकालेका थिए ।

घरेलु र पारिवारिक हिंसा, मानव बेचबिखन, जातीय छुवाछुत र भेदभावको अन्त्यका लागि सोच र व्यवहार परिवर्तन गर्नुपर्ने सन्देश लेखिएका प्लेकार्ड बोकेको र्याली लमही बगैचाबाट निस्केर लमही बसपार्कमा कोणसभाको आयोजना गरेको थियो ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन निरासिज फाउन्डेसन युथ क्लवका महासचिव सिजन केसीले गर्नु भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व प्लेकार्डसहितको र्यालीले लमही बजार परिक्रमा गरेको थियो । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २५ गते समापन हुनेछ ।