इजरायलको आक्रमणबाट ५९ जनाको मृत्यु

काठमाडौं, १ मंसिर ।
इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा आज पुनः आक्रमण गर्दा ५९ जनाको मृत्यु भएको छ । एकसय ८२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि नै आक्रमण भएको हो । आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा त्यो ठाउँ खाली गर्न आह्वान गर्नुभएको थियो ।


इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा गएको मङ्गलवारदेखि निरन्तर आक्रमण गरिरहेको एएफपीको खबरमा उल्लेख छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ । पछिल्लो समय दक्षिण बारम्बारको इजरायली हवाई आक्रमणले बेरुतबाट मानिसहरु विस्थापित भइरहेका छन् ।