काठमाडौं, १७ कात्तिक । आज यमपञ्चक अर्थात् गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज नै गोरु, किसान र हलोको पनि पूजा गरिँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
गोरुलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने तथा वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको दिन हिजो कुनै पर्व नपरेको र पाँच दिनमा सकिने तिहार यसवर्ष छ दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहार यसवर्ष कात्तिक १३ गते मङ्गलवारदेखि शुरु भएको हो । भोलि तिहारको मुख्य दिन भाइटीका मनाईंदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।
लाइभदाङ । १७ कार्तिक २०८१, शनिबार ०८:०० बजे