‘वडा फेरिएको ९ वर्ष भयो, तर विद्यालयको बोर्ड फेरिएन’

दीपक  बाेहरा
तुलसीपुर, ३१ भदौ ।
मुलुक संघीय संरचनामा गएसंगै तत्कालिन तुलसीपुर नगरपालिकालाई उपमहानगरपालिका बनाईयो । त्यसपछि वडाहरू पनि हेरफेर भए । तर, तुलसीपुर बजार भित्रको एउटा विद्यालयले तत्कालिन अवस्थामा बनाएको बोर्ड अझै फेरेको छैन ।

विद्यालय जस्तो शिक्षा दिने क्षेत्रको बोर्डमा पुरानै वडा छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित बालकल्यान प्राविको बोर्डमा अझै पनि ‘तुलसीपुर न.पा. वडा नं. ४’ उल्लेख गरिएको छ । ‘संघीयता अनुसार वडा फेरिएको पनि ९ वर्ष भइसक्यो, तर पुरानै वडाको नाम राख्दा त्यसले विद्यार्थीमा कस्तो सिकाई होला’, विद्यालय पुगेका तुलसीपुर निवासी भुपबहादुर भण्डारीले भने‘यो तत्काल परिवर्तन गर्नुपर्छ ।’ सोही ठाउँ तत्कालिन अवस्थामा तुलसीपुर नगरपालिकाको वडा नं.४ थियो । त्यसपछि संघीय संरचना अनुसार तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ७ बनेको थियो ।

विद्यालयको आम्दानीको स्रोत न्यून हुँदा बोर्ड फेर्न नसकिएको प्रधानाध्यापक हुमबहादुर केसीले गुनासो गरे । ‘बजार भित्रकै विद्यालय हो, धेरै विद्यालय मर्ज भएपनि हामीले न्यून आय भएका विद्यार्थीहरूलाई पढाइरहेका छौं’,उनले भने‘तर, यसमा स्थानीय सरकारले पनि कुनै चासो दिएको छैन ।’ अहिले विद्यालयमा विभिन्न दाताहरूले सहयोग गरेपनि सरकारले सहयोग नगरेको उनको गुनासो छ । अहिले भवनमा रंगरोगन लगाउने कार्य भइरहेकाले केही समयमै त्यो बोर्ड फेर्ने उनले बताए ।

अधिकांश साहाराविहीन अध्ययन
उक्त विद्यालयमा अधिकांश साहाराविहीन विद्यार्थीहरूले अध्ययन गर्ने गरेका छन् । बजार भित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा शाहाराविहीन विद्यार्थीहरू अध्ययन गर्ने गरेका छन् । ‘यहाँ कोही आमा नभएका, कोही वुवा नभएका, कोही रोजगारीका लागि भारतलगायतका देशमा गएका बालबालिकाहरू पढ्छन्’,प्रधानाध्यापक केसीले भने ‘न्यून आय भएका विद्यार्थीहरूले पढ्ने विद्यार्थी बनेको छ ।’


शिशु देखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भएपनि ६५ जना मात्रै नियमित विद्यालय आउने गरेका छन् । २०४५ सालमा विद्यालय स्थापना भएको हो । त्यसयता नियमित सञ्चालनमा छ । अहिले सोही विद्यालयमा ७ जना शिक्षक शिक्षिका कार्यरत छन् । उक्त विद्यालय शिशुदेखि कक्षा ५ सम्म सञ्चालित छ ।

बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
सोही विद्यालयका विद्यार्थीहरूलाई फोहरका रूपमा फालिएका बोतल बेचेर शैक्षिक सामग्री प्रदान गरिएको छ । ‘म सफा गर्छु, मेरो देश’ अभियानले तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

 बजार सफा बनाउनुकासाथै त्यसबाट संकलन भएको रकमलाई यस्तै न्यून आर्थिक भएकाहरूलाई सहयोग गर्ने गरेको अभियानका संयोजक निमबहादुर बुढाथोकीले बताए । ‘हाम्रो सरसफाई अभियान १६४ औं हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाई अभियान सञ्चालन गरिरहेका छौं’,उनले भने ‘यही क्रममा भेटिएका पानीका बोत्तललाई संकलन गरेर यस्तै विपन्न विद्यार्थीहरूलाई सहयोग गर्न थालेका छौं ।’ त्यो विद्यालयका ६५ बढि विद्यार्थीहरूलाई कपी र कलम सहयोग गरिएको हो । साभारः अग्रिम साप्ताहिक