माबि सौडियारमा बृहत बिज्ञान कला तथा शैक्षिक प्रदर्शनी

दाङ, २ असोज ।
लुम्बिनी प्रदेशका उद्योग, पयर्टन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा क्षेत्रमा हुने राजनीति बन्द गरिनुपर्ने बताएका छन् ।

१२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा घोराही उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय सौडियारले आयोजना गरेको बधाई एंव विज्ञान कला प्रदर्शनी कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री न्यौपानेले विद्यालयमा गरिने राजनीतिका कारण पछिल्लो समय सामाजिक विद्यालयको शिक्षा कमजोर भएको भन्दै शिक्षा क्षेत्रमा हुने राजनीति बन्द गरिनुपर्ने बताएका हुन ।

‘राजनीतिका कारण शैक्षिक गुणस्तर खस्किदै गएको र विद्यालयमा विद्यार्थी संख्या समेत न्यून हुने क्रम बढेको छ’,मन्त्री न्यौपानेले भने,‘यसमा व्यापक सुधार गर्न आवश्यक छ, शिक्षा क्षेत्रमा हुने राजनीति बन्द गर्नुपर्छ ।’ यसका लागि सवैभन्दा सचेत नागरिक हुनुपर्ने भन्दै मन्त्री न्यौपानले शिक्षाका क्षेत्रमा राजनीति गर्नेलाई बहिष्कार गर्नुपर्ने बताए ।

शिक्षा क्षेत्र विग्रिए समग्र देश बिग्रने भएकाले शिक्षा क्षेत्र सुधारका लागि हरेक नागरिक व्यक्ति र पार्टीगत स्वार्थभन्दा माथि उठेर विद्यालयको शैक्षिक एवं भौतिक सुधारका लागि चिन्तित हुनुपर्ने बताए ।

‘आफ्नो वा पार्टीको मान्छेलाई शिक्षक वा व्यवस्थापन समितिमा राख्ने प्रवृति बढ्दा सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बन्न पुगेको छ । यसलाई सुधार गर्न आवश्यक छ’,मन्त्री न्यौपानेले भने,‘त्यसका लागि अभिभावक सच्चिन आवश्यक छ । आफ्नो मान्छे होइन, राम्रो मान्छेलाई विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा चुन्नुपर्छ ।’


विद्यालयमा हुने राजनीतिलाई बन्द गरेर शिक्षक, अभिभावकसँगै विद्यार्थीको समन्वयका माध्यमबाट विद्यालयको शैक्षिक एवं भौतिक सुधार गर्न सकिने भन्दै त्यसका लागि तीनै तहका सरकारको समन्वय हुन आवश्यक रहेको बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययरत कक्षा १ देखि प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले विज्ञान कला सम्वन्धी प्रदर्शनी गरेका थिए । त्यसको मन्त्री न्यौपानेसहित प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसी,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता भीमप्रकाश खड्कालगायतले अवलोकन गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता भीमप्रकाश खड्का,सौडियार सामुदायिक शिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रसाद घिमिरे, अभिभावक पार्वती सुनार, विद्यालयका प्लस टु विभागीय प्रमुख हिरालाल न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले विद्यालयको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका सभागीलाई सहायक प्रधानाध्यापक दामोदर पाण्डेले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रममा विद्यार्थीले आफुले बनाएका विज्ञान कला सामग्रीका बारेमा जानकारी गराएका थिए भने उत्कृष्ट गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बिद्यालयमा सिसि क्यामेरा जोड्न आफ्नो आन्तरिक स्रोतबाट आर्थिक सहयोग गर्ने सौडियार सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रसाद घिमिरेलाई खादा, मालासहित दोसल्ला ओढाई प्रमाणपत्रले कदर पत्र प्रदान गरिएको थियो ।