
तुलसीपुर, ३१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाकी २८ वर्षीया दिपा बुढाथोकी पहिलोपटक गर्भवती हुँदा औधी खुसी थिइन । सुरुका दिनहरूमा कुनै ठूलो स्वास्थ्य जटिलता थिएन। तर, एकदिन अचानक पेटमा असह्य र तीव्र दुखाइ सुरु भयो। हेर्दाहेर्दै अवस्था यति बिग्रियो कि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याउनुपर्यो।
उनलाई तुलसीपुर–७ मोतिपुरमा रहेको राप्ती लाइफ केयर अस्पताल पुर्याउँदा दिपाको अवस्था निकै चिन्ताजनक बनिसकेको थियो। चिकित्सकहरूको प्रारम्भिक जाँच र परीक्षणपछि उनलाई पाठेघरबाहिर भ्रूण विकसित हुने जटिल समस्या ‘एकटोपिक प्रेग्नेन्सी’ भएको र त्यो फुटिसकेको पत्ता लाग्यो। भ्रूण फुटेका कारण दिपाको पेटभित्र तीव्र रूपमा आन्तरिक रक्तस्राव भइरहेको थियो।
शरीरमा रगतको मात्रा अत्यन्तै न्यून भइसकेको थियो भने रक्तचाप पनि खतरनाक विन्दुमा झरेकाले यो अवस्था चिकित्सकहरूका लागि ठूलो चुनौती र परीक्षाको घडी बनेको थियो। थोरै समय मात्र ढिला भएको भए दिपाको ज्यान जान सक्थ्यो।
यस्तो आपतकालीन स्थितिमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बिनोद सिंह र डा. रितेश शर्मा लगायतको दक्ष चिकित्सकीय टोलीले तत्कालै शल्यक्रिया (अप्रेसन) गर्ने निर्णय लियो। गम्भीर आन्तरिक रक्तस्रावका कारण तत्काल रगतको आवश्यकता परेकाले डा. सिंह नेतृत्वको टोलीले अप्रेसनसँगै द्रुत रूपमा रगतको व्यवस्थापन गरी उनलाई ५ पोका रगत दियो।
‘मलाई त अब म बाँच्दिनँ, मेरो सबै कुरा सकियो जस्तै लागिसकेको थियो,’ त्यो कठिन र डराउने पल सम्झँदै दिपा भन्छिन । गम्भीर अवस्थामा उपचारका लागि नेपालगन्ज वा अन्य ठूला सहर जानुपर्छ भन्ने लागेका दिपा र उनका परिवारका लागि तुलसीपुरकै राप्ती लाइफ केयर अस्पतालका चिकित्सकहरूको निरन्तरको प्रयास र सफल शल्यक्रियाले नयाँ जीवन दिलायो।
शल्यक्रियापछि बिस्तारै होस फर्किएकी दिपाको शरीरमा रगतको मात्रा बढाउँदै लगियो र उहाँको स्वास्थ्यमा क्रमशः सुधार आयो।



लाइभदाङ । १ कार्तिक २०८३, शनिबार २०:०० बजे