
सल्यान, ३१ असोज ।
राप्ती राजमार्गलाई पाँच खण्डमा विभाजन गरी सडक स्तरोन्नतिको काम भइरहेको छ । तीनवटा ठेक्कामार्फत अघि बढाइएको स्तरोन्नतिमध्ये पुराना दुई प्याकेजमा कालोपत्रे गर्ने र नयाँ तीन खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको हो ।
आर्थिक वर्ष २०८१/८१ मा सम्झौता भएका राम्री–कपुरकोट र सल्यान–रुकुमको खौला क्षेत्रका सडक स्तरोन्नतिका काम २०८२ सालभित्र सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ भएको थियो। म्याद थप गरिएका यी आयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, दाङको हरनेटी–राम्री तथा सल्यानको चोरखोला–कपुरकोट र सम्धीमोड–खारखोला खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ । यी तीन खण्डमा २०८२ जेठ ४ गते ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २०८४ जेठसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक डिभिजन कार्यालय दाङका अनुसार पुराना ठेक्काअन्तर्गत करिब ९० प्रतिशत र नयाँ ठेक्काअन्तर्गत ५५ प्रतिशत काम सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सडकमा सुरक्षित आवागमनको व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । उनका अनुसार चाडपर्वका बेला सवारी आवागमन प्रभावित हुन नदिन जोखिमयुक्त स्थानमा कटिङको काम रोक्न तथा सडकमा खसेका ढुङ्गा र सानातिना पहिरो हटाउन भनिएको छ ।
निर्माणस्थलको अवस्था हेरेर आवश्यक व्यवस्थापन गर्नसमेत निर्देशन दिइएको विष्टले जानकारी दिए । राप्ती राजमार्गको स्तरोन्नतिपछि यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । तर, निर्माण कार्य पूरा नहुँदै दसैँका बेला सवारी चाप बढेपछि यात्रुहरूको सुरक्षित आवागमन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।



लाइभदाङ । १ कार्तिक २०८३, शनिबार २२:०७ बजे