तीजलाई सभ्य तरिकाले मनाउनुपर्छ

दाङ, २० भदौ ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले तीज पर्वलाई भड्किलो बनाउन नहुने बताएकी छन् । तुलसी सामाजिक विकास संस्था र राइजिङ जव प्लेसमेन्ट सेन्टले बिहिबार तुलसीपुर आयोजना गरेको तीज मिलन कार्यक्रममा उपप्रमुख चौधरीले तीज पर्व महिला दिदीबहिनीको मेलमिलाप र सद्भावको पर्व भएपनि पछिल्लो समय केहि भड्किलो बन्दै गएको बताइन ।

उनले हरेक चाडपर्वले सामाजिक एकतामा महत्वपूर्ण भूमिका खेलेको बताउँदै तीज पर्वको पनि आफ्नै मौलिकता रहेको बताइन । कार्यक्रममा कार्यपालिका सदस्य बसन्ता केसी र न्यायिक समिति सदस्य लालमती भण्डारीले तीजको मौलिकतालाई जोगाउनु चुनौतिको रुपमा रहेको बताइन् ।

तुलसी सामाजिक विकास संस्थाका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा तीज मिलन कार्यक्रम भएको हो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण बिक्रम डाँगी, लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसी लगायतले तीज पर्वको मौलिकता बचाउनुपर्नेमा जोड दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का सदस्य तथा तुलसी सामाजिक विकास संस्थाका सदस्य राम बहादुर पौडेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण तुलसी सामाजिक विकास संस्थाका सचिव सागर सुवेदीले गरेका थिए ।