बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर, १८ भदौ । फोहरका रुपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित बालकल्यान प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । ‘म सफा गर्छु, मेरो देश’ अभियानले तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

बजार सफा बनाउनुकासाथै त्यसबाट संकलन भएको रकमलाई यस्तै न्यून आर्थिक भएकाहरुलाई सहयोग गर्ने गरेको अभियानका संयोजक निमबहादुर बुढाथोकीले बताए ।“हाम्रो सरसफाई अभियान १६४ औं हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाई अभियान सञ्चालन गरिरहेका छौं”, उनले भने “यही क्रममा भेटिएका पानीका वोतललाई संकलन गरेर यस्तै विपन्न विद्यार्थीहरुलाई सहयोग गर्न थालेका छौं ।” सोमबार विद्यालयमै पुगेर विद्यार्थीहरुलाई कपी कलम सहयोग गरिएको हो ।

त्यो विद्यालयका ५० बढि विद्यार्थीहरुलाई कपी र कलम सहयोग गरिएको हो । सोही विद्यालयमा न्यून आर्थिक अबस्था भएका विद्यार्थीहरु अध्ययन गर्ने गर्छन् ।


धेरै जसो विद्यार्थीहरु अभिभावक विहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरु नै अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए ।“यो विद्यालयमा अधिकांस साहाराविहीन र गरीब विद्यार्थी पढ्छन्”,उनले भने “आर्थिक अबस्था कम्जोर भएकाहरुलाई यसरी सहयोग गर्नुले विद्यार्थीको थप हौसला बढ्ने गर्छ ।” २०४५ सालमा उक्त विद्यालय स्थापना भएको हो ।

शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ८८ विद्यार्थी पढ्छन्, भने ७ जना शिक्षक कार्यरत रहेका छन् । त्यस अवसरमा बिशिष्ट अतिथि दीपक बोहराले यो अभियानबाट सबैले सिक्नु पर्ने बताएका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षक परशुराम खनाल, अभियनता मेघराज केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । भुपबहादुर भण्डारीले स्वागत मन्तब्यक्त गरेको कार्यक्रमको सहजीकरण अभियन्ता राजु विश्वकर्माले गरेका थिए ।