दाङ, २० साउन । दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता एक बालिकाको शव फेला परेको छ ।
शुक्रबार राति तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर ४ खाद्रै बस्दै आएकी १६ बर्षीय मन्जु खड्काको शव आईतबार विहान साढे ८ बजेतिर भेटिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बबई गाउँपालिका ५ खयरभट्टी स्थित बबई नदीको किनार पानीमा तैरिएको अबस्थामा शव भेटिएको हो ।
शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई बगाउँदा उनीसहित दुई जना वेपत्ता भएका थिए । ति मध्ये बेपत्ता भएकी तुलसीपुर ४ निवासी ५५ बर्षीया सीता आलेको शनिबार विहान ८ बजेतिर ग्वारखोलामा शव भेटिएको थियो । मन्जु सीताको नातिनी हुन् । सीता नातिनीलाई लिन तुलसीपुर आएकी थिइन । उन सुर्खेतबाट तुलसीपुर पढ्न आएकी थिइन् ।
कक्षा ११ मा विज्ञान विषय पढ्न तुलसीपुर स्थित गोरखा माविमा भर्ना भएकी थिइन । उनी तुलसीपुरमा ठूलावुवाको घरमा बसेर पढ्न लागेकी हुन् । उनको मामा घर तुलसीपुर ४ खाद्रे हो ।
अटोमा ५ जना सवार थिए । चालक तुलसीपुर ४ खाद्रे निवासी ४५ बर्षीय हरीकिशन बिक, ३३ बर्षीया सुनिता थापा र ७ बर्षीया सुशान्त आले भने सकुसल थिए ।
लाइभदाङ । २० श्रावण २०८१, आईतवार १२:३५ बजे