लुम्बिनी प्रदेशका दुई मन्त्रालयकालागि भाडाको भवन खोजियो

तुलसीपुर,१ पुस । लुम्बिनी प्रदेश प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका(भालुववाङ)मा दुई मन्त्रालयकालागि भाडाको भवन खोजिएको छ । कृषि तथा भूमि ब्यबस्थापन मन्त्रालय र शिक्षा तथा खेलकूद मन्त्रालयकालागि भाडाको भवन खोजिएको छ ।

दाङ राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार कृषि मन्त्रालयकालागि वडा नं. २ मा र शिक्षा मन्त्रालयकालागि वडा नं. ८ मा भवन तयारी अबस्थामा राखिएको छ । विहीबार मन्त्रालयका सचिबहरु आएर त्यो भवन हेरिसकेको उहाँले बताउनुभयो ।“मन्त्रालयका सचिबहरु आएर भाडामा भवन लिने भनि सबै हेरिसक्नु भएको छ”,उहाँले भन्नुभयो“एक हप्ता भित्रमा उहाँहरु आउछु भन्नु भएको छ ।”

प्रदेश मन्त्रीपरिषद्को पहिलो बैठकले पनि कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय गरेको छ । मन्त्री परिषदका प्रबक्ता तीलकराम शर्माका अनुसार श्रेणी विहिन कर्मचारीलाई तीन हजार पाँच सय रुपैयाँ, चौथो, सहायक पाँचौं र अधिकृत सम्मलाई ६ हजार मासिक आवास सुविधा दिने निर्णय भएको छ । प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगमा समेत गरी ३ सय ३७ कर्मचारी छन । राजधानी अन्तरगतका मन्त्रालयहरु स्थानान्तरण गर्दा लाग्ने खर्च सम्वन्धित मन्त्रालयबाट भुक्तानी मिलाउने, खर्च शिर्षक नभएको हकमा अर्थ मन्त्रालयमा माग गर्ने निर्णय भएको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ लालमटिया स्थित राप्ती प्राबिधिक शिक्षालयलाई नजिकैको सरस्वति माविमा सारिएपछि त्यहाँका संरचना प्रयोग गरेर अहिले मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री आवासगृह, प्रदेश प्रमुखको आवासगृहलगायत निर्माण गरिएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि बुधबारदेखि राप्ती उपत्यका देउखुरीबाटै काम सुरु गरेको छ ।

प्राबिधिक शिक्षालयकै क्षेत्रमा आन्तरिक, मामिला कानुन तथा सञ्चार मन्त्रालय,अर्थ तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको लागि सोही स्थानमै राख्ने गरि संरचना मर्मत गर्ने कार्य भइरहेको छ । अन्य मन्त्रालयको संरचनाकालािग भवन खोज्ने कार्य भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

स्वास्थ्य,जनसंख्या तथा परिवार कल्यान मन्त्रालय र पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयको कार्यालय भालुवाङमै सञ्चालनमा छन् ।


स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आबश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भइ काम गर्दै आएको छ । २०५० सालमा स्थापना भएको शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो ।

भालुवाङमै प्रदेश पूर्वाधार प्राधिकरण अन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ । २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकावडा नं. १,२ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो ।

प्रदेशसभा भवन निर्मानिर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यही भवनमा प्रदेशसभाको पहिलो बैठक बस्ने गरि तयारी गरिएको छ । राप्ती गाउँपालिका वडा नं. ३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ ।“पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ”, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीन्नुभयो“अब अन्य सानातिना काम बाँकी छन् ।”

प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ, भने बाहिर इन्टरलक लगाउने बाँकी छ । विद्युत जोडिएको छ । रंग, रोगन भइसकेको छ । अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका डेकोरेशनको काम बाँकी छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ ।

प्रदेशसभा भवन १ अर्व २० करोड लगानीको हो । उक्त भवन वाइवी स्टोन बिल्ड्रर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बनेका छन् ।