राप्तीमा एसईई नतिजाको समिक्षाः सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

तुल बहादुर कवँर मगर
भालुबाङ, १९ असार ।
दाङको राप्ती गाउँपालिकाले भर्खरै प्रकाशित एसईई परीक्षाको नतिजाको समिक्षा गरेको छ। गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको नतिजा कम्जोर देखिए पछि सो विषयमा समिक्षा गरिएको हो।

पालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार गाउँ शिक्षा समिति,माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,नेपाल शिक्षक महासंघका अध्यक्ष लगायत विभिन्न पेशागत शिक्षक संघ संगठनहरुको संयुक्त बैठक बसी समिक्षा गरिएको हो। समिक्षा बैठकका सहभागीहरुले एसईई परीक्षाको नतिजा कम्जोर हुनुमा सबै पक्षले जिम्मेवारी लिनुपर्ने बताउनुभएको थियो ।

त्यस्तै उहाँहरुले परीक्षा मूल्यांकन प्रणाली अस्थिर हुनु,शिक्षक,विद्यार्थी र अभिभावकहरु आफ्नो काम र कर्तव्य प्रति जिम्मेवार नहुनु,विषयगत शिक्षकको अभाव हुनु,छिटोछिटो शिक्षक सरुवा हुनु,विद्यार्थीहरुमा नपढे पनि पास भइन्छ भन्ने मानसिकता हुनु लगायतका कारण नतिजा कम्जोर आएको बताउनुभएको थियो।

त्यस्तै सहभागीहरुले परीक्षा मूल्यांकन प्रणाली परिवर्तन,शिक्षक,विद्यार्थी र अभिभावकहरु आफ्नो काम र कर्तव्य प्रति जिम्मेवार,शिक्षकहरू बीच आपसी समझदारी, नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमको पूर्ण रुपले व्यबहारमा लागू गरे विद्यालय शिक्षामा गुणस्तरमा वृद्धि गरि आगामी परीक्षामा राम्रो नतिजा ल्याउन सकिने बताउनुभएको थियो।


त्यस्तै उहाँहरुले शैक्षिक गुणस्तर सुधार गर्न गाउँगाउँमा अभिभावक शिक्षा सञ्चालन,विद्यालय अनुगमनलाई कडाइसाथ तिव्रता,पालिकाले तल्लो तह देखि नै छुट्टै परीक्षा प्रणाली विकास गरि परीक्षा सञ्चालन,शिक्षकहरुलाई पेशागत सहायक सामाग्री प्रदान,अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक प्रकाश विष्टले विद्यालय शिक्षामा गुणस्तर सुधार गर्नको लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताउनुभएको छ। राज्यले लगानी गरेरमात्रै केही नहुने भन्दै अध्यक्ष विष्टले त्यसको लागि शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा सँग सम्बद्ध सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले विद्यालय र विद्यार्थीहरुलाई वर्गीकरण गरि पठनपाठनको व्यवस्था मिलाउनु पर्ने,पाहुना शिक्षकको अवधारणा लागू गर्नुपर्ने र समयसमयमा शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

आगामी दिनमा विद्यालय अनुगमनलाई थप कडाइ साथ अघि बढाउने बताउदै अध्यक्ष विष्टले एसईईको पूरक परीक्षा दिने विद्यार्थीहरुलाई कुनै पनि कुराको कमी नहुने गरि पढाइको व्यवस्था मिलाउन विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई निर्देशन दिनुभयो ।