राप्तीमा बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, ३१ जेठ ।
दाङको राप्ती गाउँपालिकामा बुधबार बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगितामा स्वास्थ्य संस्थाबाट प्रत्येक महिना बच्चाको नाप लिएको वा नलिएको,बच्चाको उमेर र उचाइ अनुसारको तौलको अवस्था,पूर्ण खोप लगाएको वा नलगाएको लगायतको विषयमा मूल्याङ्कन गरि उत्कृष्ट बालबालिका छनोट गरिएको हो।

प्रतियोगितामा राप्ती गाउँपालिका वडा नम्बर ३ कि फुल कुमारी चौधरीको छोरी लक्ष्मी चौधरी प्रथम,वडा नम्बर ५ कि उमादेवि थापाकी छोरी दिपसना थापा द्वितीय र वडा नम्बर ६ की उमा चौधरीकी छोरा आयान चौधरी तृतीय भएका छन्।

पालिकाले प्रथम,द्वितीय र तृतीय हुने बालबालिकाहरुलाई करसहित क्रमश तीन हजार, दुई हजार पाँच सय र दुई हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ।


पालिकाले स्वास्थ्य अधिकृत तथा पोषण कार्यक्रमका संयोजक धन बहादुर बुढा क्षेत्रीको संयोजकत्वमा एक मूल्यांकन समिति गठन गरि ९ वटै वडामा रहेको स्वास्थ्य संस्थाबाट पाँच वर्ष मुनिका बालबालिकाहरुको नाप, उमेर र उचाइ अनुसारको तौलको अवस्था तथा पूर्ण खोप लगाएको वा नलगाएको विवरण संकलन गरि उत्कृष्ट छनोट गरेको हो।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षता सम्पन्न उक्त प्रतियोगितामा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी,विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी,शिक्षक,बालबालिका तथा अभिभावकहरुको सहभागीता रहेको थियो ।