राप्ती गाउँपालिकामा पूर्व बजेट सम्बन्धी छलफल 

तुल बहादुर कवँर मगर 

देउखुरी, २४ जेठ । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि पूर्व बजेट सम्बन्धी छलफल गरेको छ ।

गाउँपालिकाले पालिकामा क्रियाशील विभिन्न राजनैतिक दल एवम् संघसंस्थाका प्रतिनिधि तथा सराेकारवाला नागरिकहरुकाे छुट्टाछुट्टै भेलाकाे आयोजना गरि छलफल गरेको हाे।

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकहरुको सल्लाह सुझावलाई एकीकृत गरेर आगामी नीति कार्यक्रममा समेटिने बताउनुभयो ।

पछिल्लो समय बजेट घट्दो क्रममा आइरहेकाले पनि आफूहरुले सोचे अनुरुप विकास गर्न नसकेको अध्यक्ष विष्टको भनाई थियो ।

अध्यक्ष विष्टले गाउँपालिकाले बजेट निर्माण हुनु अगावै पूर्व बजेट सम्बन्धी सराेकारवाला नागरिकहरु सँग छलफल गर्दा वास्तविक समस्याकाे पहिचान भई मागको आधारमा भन्दा पनि आवश्यकताकाे आधारमा बजेट विनियोजन गर्न सहज हुने बताउनुभयो ।


यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले पूर्व बजेट सम्बन्धी छलफलले निति तथा बजेट निर्माण गर्दा बजेट लक्ष्यित वर्गसम्म पुर्याउन सहयोग पुग्ने बताउनुभयो। 

आगामी आर्थिक वर्षको निति कार्यक्रम एवम् बजेट निर्माण गर्दा भाैतिक विकास सँगसँगै विपन्न नागरिकहरुकाे आर्थिक अवस्था सुधारको लागि सीपमूलक र आयआर्जन मूलक कार्यक्रम तर्फ पनि केन्द्रत हुनुपर्ने उपाध्यक्ष चाैधरीले भनाई थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले सहभागीहरुकाे सल्लाह सुझाव अनुरुप आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण हुने बताउनुभयो ।

छलफलका क्रममा सहभागीहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट न्यूनतम आधारभूत आवश्यकताहरु सहज हुने गरि निर्माण गर्न सल्लाह सुझाव दिएका थिए ।

छलफल कार्यक्रमामा गाउँ कार्यपालिका सदस्य,पालिकामा क्रियाशील विभिन्न राजनैतिक दल एवम् संघसंस्थाका प्रतिनिधि तथा सराेकारवाला नागरिकहरुकाे सहभागीता रहेको थियो ।