सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत, १७ जेठ ।
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

गएराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका–१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे प्राप्त गरेको थियो।

त्यसपछि प्रहरी दुर्घटनास्थल पुगेको उनले बताए। उनका अनुसार जिप अन्दाजी ४ सय मिटर तल खसेको छ।


दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै रहेको र निकाल्ने प्रयास जारी रहेको डिएसपी विश्वकर्माले जानकारी दिए। मृतकको सनाखत भइसकेको छैन।

प्रहरीले दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको छ। घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका–३ का अन्दाजी २८/२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका ९ पाखाका नरेन्द्र विष्ट छन्।

उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिएसपी विश्वकर्माले जानकारी दिए।