एनप्याब्सनद्वारा जिल्ला स्तरीय हाँजिरीजवाफ प्रतियोगिता

तुलसीपुर, १४ असोज ।
एन-प्याब्सन दाङको आयोजनामा विद्यार्थीहरूको बौद्धिक तथा मौलिक क्षमता अभिवृद्धि गर्ने र भविष्यमा लोकसेवा जस्ता प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

दाङ जिल्लाका एन-प्याब्सनमा आबद्ध विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा ज्ञान ज्योति स्कुलले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी सारदा सिस्नेले द्वितीय, सगरमाथाले तृतीय तथा राप्ति बाल एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका छन्। प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।


एनप्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा तुलसीपुर उपमहानगर शिक्षा अधिकृत मन बहादुर खड्कको प्रमुख आतिथ्यता एवं एन-प्याब्सनका जिल्ला सल्लाहकार तथा ज्ञानज्योति फाउन्डेसनका सीईओ सुरेन्द्र जिसीको विशिष्ट आतित्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि खड्काले विद्यार्थीहरू किताबी ज्ञानमा मात्र सीमित नभई बाहिरी ज्ञानका माध्यमबाट भविष्यमा सफल हुन सक्ने बताए । कार्यक्रममा उपाध्यक्ष ठाकुर डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण सचिव छबि कुमार वलीले गरेका थिए ।