पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चारजना घाइते

तुलसीपुर, २४ बैशाख । पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चारजना घाइते भएका छन । पन्चकुलेबाट हापुरेतर्फ जाँदै गरेको रा १ क १६३१ नम्बरको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका-२ का २३ वर्षिय विवेक रावत र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २८ वर्षिय भरत रावत घाइते भएको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार पिपुलेन्स सेकेण्डरी बोडिङ स्कुलको सो बसले हापुरेबाट तुलसीपुर तर्फ आउदै गरेको रा ८ प ३ नम्बरको मोटरसाइकललाई आज बेलुका पौने ७ बजेको समयमा पुर्ब हापुरे सामुदायिक बनको भवन नजिकै ठक्कर दिदा उनिहरु घाइते भएका हुन् ।


यस्तै बबई गाउँपालिका ६ चरकमटियादेखी पन्चकुलेतर्फ जाँदै गरेको रा ४ प ६०४२ नम्बरको मोटरसाइकल बबई-६ चौपारी नजिकै आफै अनियंत्रित भई दुर्घटना हुँदा दुइजना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-७ का ३४ वर्षिय महेश चौधरी र पछाडी सवार सोही ठाँउका १५ वर्षिय रावल चौधरी रहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । घाइते चारैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।