द्रुत प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम

प्रिया स्मृती गजमेर
लमही, १२ बैशाख ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय दाङको आयोजनामा स्थानीय द्रुत प्रतिकार्य समिती र स्थानीय द्रुत प्रतिकार्य टिम गठन तथा अभिमुखिकरण कार्यक्रम कार्यक्रम भएको छ ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपत व्यवस्थापन र विपतको सामना गर्न लमही नगरपालिका तयारी अवस्थामा रहेको बताउनु भयो । विपत धेरै किसिमका हुन्छन, विपत कतिबेला आउछ भन्ने पुर्व जानकारी कसैलाई पनि हुँदैन, त्यस कारण विपत व्यवस्थापनमा लमही नगरपालिका जुनसुकै समयमा पनि तयारी रहेको प्रमुख चौधरीको भनाई छ ।

नगर उपप्रमुख लक्ष्मी योगीले कोभिड जस्ता महामारीको सामना गर्दै आएको घटनालाई स्मरण गर्दै अन्य महामारीसंग डटेर सामाना गर्ने गरि पुर्व तयारी हुनु पर्ने बताउनु भयो । स्वास्थ क्षेत्रमा आउने विपत पनि भयानक हुने भएकोले समयमै सबै सजग हुनु पर्ने जरुरी छ’ योगीले भन्नू भयो ।

नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशम बहादुर खड्काले विपतका बेला सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।


स्थानीय द्रुत प्रतिकार्य समिति गठन गरिएको छ । जसको संयोजकमा नगर प्रमुख जोगराज चौधरी, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, लमही अस्पतालका डा. आकाश बेल्बासे, लमही नगरपालिका विपत व्यवस्थापन शाखा प्रमुख गायत्री थापा र स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्मा रहनु भएको छ ।

त्यसैगरि स्थानीय द्रुत प्रतिकार्य टिम गठन गरिएको छ । जसको संयोजकमा लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्मा, सतबरिय स्वाथ्य चौकी प्रमुख ठाकुर प्रसाद भट्टराई, सोनपुर स्वास्थ्य चौकीकि इन्दुमती चौधरी, लमही अस्पतालका प्रशासन प्रमुख हरि खनाल, कोलही नगर स्वास्थ्य केन्द्र प्रमुख कृष्ण आचार्य, लमही अस्पतालका नर्सिङ निरीक्षक भावना पाण्डे, लमही अस्पतालका ल्याब टेक्निसियन निरीक्षक शंकर भण्डारी, लमही नगरपालिका स्वास्थ्य शाखाकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मीना भुसाल शर्मा र लमही नगरपालिका पशु शाखा प्रमुख शिवराज न्यौपाने रहनु भएको छ । अन्य सदस्यहरु आवश्यकताका आधारमा थप गर्न सकिने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा श्रीगाउँ अस्पतालका डा। सुगत अधिकारी र स्वास्थ्य कार्यालय दाङका कमल चन्दले स्थानीय द्रुत प्रतिकार्य समिती र स्थानीय द्रुत प्रतिकार्य कसरी गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिनु भएको थियो ।

नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।