प्रदेश सरकारले सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन चाहान्छ : प्रदेश सांसद खड्का

दाङ , २८ फागुन ।
लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले तालिम पश्चात कटाई सिलाईलाई व्यावसायीक रुपमा विकास गर्न सकिने बताउनु भयो । स्वर्गद्वारी कश्यप समाज सेवा समिति लमहीको आयोजना तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा शुरु गरिएको तीन महिने कटाई सिलाई तथा कम्प्युटर तालिमको उद्घाटन गर्दै प्रदेश सांसद खड्काले सो कुरा बताउनु भएको हो ।

तीन महिने कटाई सिलाई तथा कम्प्युटर तालिमलाई सम्बोधन गर्दै सांसद खड्काले थप तालिमको आवश्यकता परेको खण्डमा प्रदेश सरकारले तालिम प्रदान गर्ने साथै तालिममा लिएका ज्ञानको सदुपयोग गर्दै स्वरोजगार बन्नका लागि थप तालिम लिएर व्यवसायी बन्न सहभागीलाई आग्रह गर्नु भयो ।

त्यसैगरी लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आधा आकाश ढाकेका महिलाहरु नेतृत्व गर्न सबल भएको बताउनु भयो । सूचना र सञ्चारको समय आएकोले अब महिलाहरु प्रविधिमा पनि जोडिनु पर्ने बताउनु भयो । अहिलेको आवश्यकता पनि यहि हो, हरेक घरका गृहणीको हातमा सीप हुनु पर्छ, सबै महिलालाई सीपयुक्त बनाएर आर्थिक रुपमा बलियो गराउने गरि राज्यले कार्यक्रमहरु ल्याउनु पर्छ ’ योगीले भन्नू भयो ।


सामाजिक विकास डिभिजन कार्यालय दाङका गिरीराज पाण्डेले यो तालिमलाई अवसरका रुपमा लिनु पर्ने बताउनु भयो । समयलाई सीपमा परिणत गरेर स्वरोजगार बन्न आग्रह गर्नु भयो । पत्रकार केपि घिमिरे, राधेश्याम गुप्ता, लिला शाह, चुमा आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

स्वर्गद्वारी कश्यप समाज सेवा लमहीका अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद अनुराग खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका सदस्य संगीता कुमारी गुप्ताले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सदस्य नेहा गुप्ताले गर्नु भएको थियो ।