दाङमा लागूओषध ब्राउन सुगरसहित चार जना पक्राउ

दाङ,१९ जेठ ।
दाङको तुलसीपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ९ः४५ बजे तुलसीपुर उपमहानगरपालिका–६ झुमरे क्षेत्रमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरकोठामा खानतलासी गर्दा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।


उहाँका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २५ वर्षीय पवित्र डाँगी, २६ वर्षीय गोविन्द बुढा मगर, तुलसीपुरकै वडा नं. ७ निवासी ३० वर्षीय कमल केसी र २७ वर्षीय रिगल महतरा क्षेत्री रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १० ग्राम १९० मिलिग्राम ब्राउन सुगर, आठ थान मोबाइल फोन र नगद तीन हजार ८४५ रुपियाँ बरामद गरेको छ ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिनुभएको छ ।