गुठीपीडित किसानले गरे हलो र जुवा बोकेर प्रदर्शनमा

दाङ,१७ फागुन । स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर घोराही बजार प्रदर्शन गरेका छन् । आन्दोलन सुरु गरेको नवौं दिन बिहीबार पीडितहरुले हलो र जुवा बोकेर घोराही बजार परिक्रमा गरेका हुन् । उनीहरुले गएको ८ फागुनदेखि धर्ना तथा ¥याली निकालेर विरोध गर्दै आएका छन् । माग पूरा नहुँदासम्म यसरी नै आन्दोलन गर्ने संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । आफ्नो मोही अधिकार पाउनु पर्ने भन्दै गुठीको जग्गा भोग गर्दै आएका किसानहरु आन्दोलित बनेका हुन् ।

स्वर्गद्धारी गुठीको जग्गालाई लामो समय भोग गर्दै आएको भएपनि सर्वोच्च अदालतको १४ चैत २०६२ को परमादेशले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनेपछि आफूहरु जग्गाको अधिकार पाउनबाट बञ्चित रहेको किसानहरुको गुनासो छ ।“हामी लामो समय त्यो जग्गा भोग गर्दै आएका हौं”, पीडित किसान लालबहादुर चौधरीले भन्नुभयो े“ त्यो निर्णयले हामीलाई अन्यायमा पा¥यो ।”

उहाँका अनुसार सोही जग्गा भोगचलन गर्दै आएको यो चार पुस्ता हो । आफ्ना जिजुबाजेको पालादेखि त्यो जग्गा भोग गर्दै आएको चौधरीले बताउनुभया । गुठीका १२ मौजामा किसानहरुले मोही हक दावी गरेका छन् । स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ ।

२०२१ सालमा आएको भूमि ऐन अनुसार आश्रमको जग्गामा २ सय ८९ जनाको मोही कायम भएको थियो । सोही जग्गामा घर टुक्रिदै जाँदा तीन सय पाँचको हाराहारीमा घर रहेको मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।

२९ मंसिर २०२८ सालमा उक्त जग्गा स्वर्गद्वारी आश्रमको नाममा गएको हो । स्वर्गद्वारी आश्रमको नाममा जानु भन्दा पहिले त्यो जग्गा निजि थियो । तर, किसानहरुले त्यो भन्दा पहिले नै मोही हक पाएका थिए । तर, स्वर्गद्वारी गुठीको नाममा गएपछि पटक–पटक दुःख पाउँदै आएको अध्यक्ष चौधरीले गुनासो गर्नुभयो ।


२०३८ सालमा आश्रमले सोही जग्गा खण्डीकृत नगरिदिन हुन भनि सरकारसमक्ष निवेदन पेश गरेको थियो । त्यसपछि सरकारले २०४५ सालमा खण्डीकरण नगर्ने भनि निर्णय ग¥यो । त्यही आधारमा २०६२ सालमा न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैंसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो ।

अदालतले पनि सरकारको त्यो निर्णयलाई सदर गरिदिएपछि आफूहरु पीडित बनेको किसानहरुको गुनासो रहेको छ । सबै गुठीलाई एउटै नजरले नहेरी गुठी बिद्येयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रूपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ ।

उनीहरुले चरणबद्ध रुपमा आन्दोलनलाई अघि बढाउने बताएका छन् । अध्यक्ष चौधरीका अनुसार गुठी विद्येयक संसदमा टेवल नहुँदासम्म आन्दोलनलाई जारी रहनेछ ।

स्वर्गद्वारी आश्रमको तुलसीपुर १० पढ्ढा, घोराही ५ मैनवार, घोराही १४ झिंगौरा र ढोरेनीमा मोही छन् । त्यस्तै घोराही २ रामपुरको पलासे, लमही ३ को बनगाउँ, मजगाउँ, चैलाही तथा लमही ७ को उचानिम्बुमा मोही हक कायम छ ।

स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले जग्गाको द्वैध स्वामित्वको विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक समिति गठन गरेको छ । उक्त समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने समितिको तयारी छ ।