टरिगाउँमा बस्ला ७२ सिटे ?, ब्यबसायीमा शंका, सांसदमा आशा

दीपक बोहरा
दाङ, १४ साउन ।
तुलसीपुरको आकाशमा ठूला जहाज उडेको हेर्ने दाङवासीको दशकौँ पुरानो सपना अहिले फेरि एकपटक चर्चाको शिखरमा पुगेको छ। दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुवेदी र स्थानीय उद्योगी व्यवसायीबीचको हालैको संवादले यो मुद्दालाई थप गर्माएको छ। लामो समयदेखि प्राविधिक र बजेटरी उल्झनमा फसेको टरिगाउँ एयरपोर्ट विस्तारको विषय अहिले ‘गर या मर’ को स्थितिमा पुगेको देखिन्छ।

नयाँ राजनीकि दलले दुई तिहाई बहुमत ल्याएको र चालु बर्षकालागि २५ करोड बजेट परेपछि केही आशा पलाएको छ, भने त्यसमा शंका पनि उत्तिकै छन् । किनकी विगतमा पनि टरिगाउँ एयरपोर्टकालागि बजेट आईरहन्थे, बजेटमा भाषण भइरहन्थे । तर, कार्यान्वयन फिटिक्कै भएनन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्पष्ट रूपमा भनेका छ्, कि ‘यो बजेटबाट तत्काल कम्तीमा १२ सय/ १३ सय भन्दा माथि जति भएपनि धावनमार्ग विस्तारका लागि टेन्डर प्रक्रिया सुरु हुनैपर्छ। । यदि यो वर्ष टेन्डर हुन सकेन भने यो एयरपोर्ट बन्दैन भन्ने कुरामा ढुक्क भए हुने कुरा उनले बताए । “ यो बर्ष नै टेन्डर भयो भने भयो”,उनले भने“ यदि यो बर्ष पनि भएन भने यो एयरपोर्ट बन्दैन भन्ने नै हो, मैले धेरै ठाउँ बुझेँ ।”

कर्मचारी संयन्त्र र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नाफामूलक र स्वायत्त सोचले कतै यो आयोजना फेरि रोकिने त होइन भन्ने आशंका रहेको उनले बताए । टरिगाउँ एयरपोर्ट अब केवल एउटा पूर्वाधार मात्र रहेन, यो स्थानीय राजनीतिको परीक्षाको केन्द्रसमेत बनेको छ। पूर्व अध्यक्ष विमल रिजालका अनुसार, यो एयरपोर्ट मात्र बनेमा अरु विमासका काम नभएपनि जनताले स्वीकार गर्ने बताएका छन् । उनले यसलाई सांसदको ‘पास वा फेल’ हुने कडीका रूपमा व्याख्या गरेका छन् । अर्का पूर्व अध्यक्ष विरु रावतले त झन् कडा चेतावनी दिँदै भनेका छन्“यदि ७२ सिटे जहाज यहाँ अवतरण गर्न सकेन भने भारी मतले विजयी भएका सांसदको लोकप्रियता ओरालो लाग्ने निश्चित छ ।”

व्यवसायीहरूको यो गम्भीर चासो र दबाबलाई सम्बोधन गर्दै सांसद कमल सुवेदीले निकै ठूलो राजनीतिक जोखिम मोल्ने घोषणा गरेका छन् । उनले सार्वजनिक रूपमै प्रतिबद्धता जनाएका छन्, कि आगामी ५ वर्षभित्र टरिगाउँमा ७२ सिटे जहाज बसालेरै छाडिनेछ। उनले कर्मचारी प्रशासनलाई काममा लगाउने र आवश्यकता परे निजी क्षेत्रलाई समेत लगानीमैत्री वातावरण बनाएर सहभागी गराउने योजना अघि सारेका छन् । यदि उनले यो काम पूरा गर्न नसके आफ्नो राजनीति नै समाप्त हुने सम्मको कडा अभिव्यक्ति दिएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पूराना विमानस्थलमा पर्छ । २०११ सालमा उक्त विमानस्थल सञ्चालनमा आएको हो । तर, यस विमानस्थल सुरुवातदेखि जत्रौ थियो, त्यो भन्दा ठूलो बनाउन सकिएको छैन । हाल विमनस्थलको लम्बाई ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठूला बिमानहरु बस्न सक्दैनन् । १९ सिटे जहाज मात्रै बस्छन् । त्यो भन्दा ठूला जहाज बस्न नसक्दा नियमित पनि हुन सकेको छैन, भने भाडा पनि महंगो छ ।

जसले गर्दा प्रभाबकारी रुपमा सेवा सञ्चालन हुन सकेको छैन ।“हामीले हप्तामा चार दिन हवाई सेवा सञ्चालन गरिरहेका छौं”, नेपाल एयरलाईन्सका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले भने “तर, नियमित छैन, कहिल्यै महिनामा दुई दिन मात्रै पनि चल्छ ।”

आईतबार, मंगलबार, विहीबार र शुक्रबार आउने भनिएपनि नियमित हुन सकेको छैन । कहिल्यै यात्रु नभएर समस्या हुन्छ, भने कहिल्यै मौसमले पनि आउन सक्दैन । त्यसले गर्दा पनि यहाँका यात्रुहरु भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता रहदै आएको छ । यसको धावन मार्ग विस्तारकालागि पटक–पटक आवाज उठे । तर, पनि पूरा हुन सकेको छैन ।


आर्थिक बर्ष २०६८/०६९ को बजेट बक्तब्यदेखि दाङको टरिगाउँ विमानस्थलमा नियमित जसो बर्षहरुमा बजेट बक्तब्यमा आउने गथ्र्यो । तर, बजेट भने नआउने समस्याले यस क्षेत्रका नागरिक आजित छन् । २०६८/०६९ मा कालोपत्रे भएको थियो । जतिबेला कर्मचारी सञ्चय कोषबाट ऋण लिएर देशका बिभिन्न विमानस्थलहरुको कालोपत्रे गरिएको हो ।

करिब साढे ८ करोड लागतमा अस्पाल्ट प्रबिधिबाट विमानस्थल कालोपत्रे भएको हो । त्यसपछि २०७८ तिर ५८ लाख लागतमा टर्मिनल भवन बन्यो । त्यो बाहेक अन्य बजेट आएको छैन ।

०११ सालदेखि ०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको एयरपोर्ट त्यो बीचमा नियमति हुन सकेको थिएन । तैपनी कहिल्यै आउने र कहिल्यै नआउने गर्दै २०५८ सालसम्म चल्यो । त्यसपछि कालोपत्रेको काम भयो । कालोपत्रे हुँदा उडान अबरुद्ध नै थियो ।

कालोपत्रे पश्चात पुनः २०७२ जेठ १४ गते गोमा एयरले उडान सुरु गरेको थियो । तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्न पुगेको थियो। हाल नेपाल एयरलाईन्सले टरिगाउँमा उडान भरिरहेको छ । तर, पनि निश्चित छैन । सानो हावा लाग्यो भने पनि उडान हुँदेैन । बादल वा हुस्सु लाग्यो भने पनि समस्या त्यस्तै हुन्छ ।

विमानस्थल विस्तारकालागि चार वटा विकल्प दिईएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिभिन्न चार विकल्प दिएर टरिगाउँ विमानस्थल विस्तार गर्न सकिने गरि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको छ । तर, बिकल्प नम्बर १ अनुसार नै काम गर्ने गरि अगाडी बढेपनि त्यो हुन सकेको छैन ।

पहिलो विकल्प हाल भइरहेको धावन मार्गमै विस्तार गरि १२३० मिटर लम्बाई रनवे हुन सक्छ । जसकालागि ५७ विघा जग्गा चाहिन्छ । अहिले एयरपोर्टको ३९ विघा जग्गा छ । बाँकी सामुदायिक बनको १२ विघा, अधिग्रहण १.२ विघा र सार्वजनिक जग्गा ४.८ विघा लैजानुपर्छ ।

यसरी एयरपोर्ट बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख चौवन्न हजार ८ सय लागत अनुमान गरिएको छ । जसमा फुटपाथ तथा संरचना निर्माणको कामकालागि २ अरब ७६ करोड ५० लाख ९४ हजार ८ सय ६०, भवन लगायतका सामग्रीहरुकालागि ३ अरब १३ करोड ४२ लाख ४० हजार, विबिध कामकालागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणकालागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ ।