विपद्मा लैङ्गिक हिंसा रोकथाममा सहकार्यको जोड

दंगीशरण, १५ साउन ।
विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउँदै विपद्को समयमा हुन सक्ने लैङ्गिक हिंसा रोकथामका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच समन्वय तथा सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

शुक्रबार ओरेक नेपाल, दाङ र दंगीशरण गाउँपालिकाको संयुक्त आयोजनामा ‘जोखिम सन्देश सञ्चार योजना तथा विपद्मा लैङ्गिक हिंसाको सवालमा स्थानीय सरोकारवालाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले विपद् व्यवस्थापनलाई पूर्वतयारी, सचेतना र समन्वयसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले विपद्को समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको सुरक्षा स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै सुरक्षित, समावेशी र उत्तरदायी विपद् व्यवस्थापनका लागि सबै निकायको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

विशेष अतिथि उपाध्यक्ष पीमा वली खड्काले विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम बढ्ने भएकाले त्यसको रोकथामका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तह, महिला समूह, युवा क्लब, सञ्चारमाध्यम तथा नागरिक समाजबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले विपद् पूर्वतयारी, जोखिम सन्देश सञ्चार तथा उद्धार व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विपद् व्यवस्थापनसम्बन्धी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक पर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा ओरेक नेपाल, दाङकी जिल्ला अध्यक्ष कल्पना चौधरीले जोखिम सन्देश सञ्चार योजना र विपद्का बेला लैङ्गिक हिंसा रोकथाममा स्थानीय सरोकारवालाको भूमिकाबारे प्रस्तुति दिनुभएको थियो।

अन्तरसंवादमा सहभागीहरूले विपद् व्यवस्थापनका हरेक चरणमा लैङ्गिक समानता, मानवअधिकार र समावेशी दृष्टिकोणलाई आत्मसात् गर्दै जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा शक्ति सञ्जालका सदस्य सालिकराम खड्का, एकता महिला सञ्जालकी बुधनी चौधरी, वडा नं। ७ का अध्यक्ष रेशमबहादुर वलीलगायतले विपद् व्यवस्थापन र लैङ्गिक हिंसा रोकथाममा स्थानीय तह तथा समुदायको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, महिला अधिकारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।