तुलसीपुर,२३ चैत ।
तुलसीपुरमा खानेपानीको अभाब पूर्तिकालागि बबई लिफ्टिङको काम अघि बढेको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार अबको बैशाखदेखि टेण्डर प्रक्रियामा अघि बढ्ने छ । लिफ्टिङको काम अघि बढाउनकालागि फागुन २९ गते संस्था, तुलसीपुर उपमहानगरपालिका र खानेपानी तथा ढल ब्यबस्थापन विभागबीच सम्झौता भएको छ ।
अब खानेपानी संस्थाको खाता खोलेपछि त्यसको केही समयमा विभागले टेन्डर प्रक्रिया अघि बढाउनेछ । तुलसीपुरमा बैशाख,जेठमा खानेपानीको अभााब हुने गर्छ । त्यसको पूर्ति बबई लिफ्टिङले पूर्ति गर्ने संस्थाका उपाध्यक्ष सिताराम शर्माले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय योजना आयोगले उक्त परियोजना स्वीकृति गरिसकेको छ । त्यो परियोजना सफल भएमा १५/२० बर्षकालागि तुलसीपुरमा खानेपानीको अभाब नहुँने उहाँको भनाई छ ।
उहाँका अनुसार ७४ करोड ९६ लाखमा टेण्डर खुल्ला हुनेछ । तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर समवेल(इनारजस्तै पानी संकलन गर्ने प्रबिधि) बन्नेछ । त्यसको सातसय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । त्यसपछि एयरपोर्ट र त्रिसिद्धेश्वरी मन्दिर नजिक अन्डरग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् ।
त्यसपछि मोतिपुर, झुमरे, खानेपानी कार्यालय, सिखरकोलनीलगायतमा ट्याङ्की निर्माण भएर पानी जम्मा हुनेछ । र, त्यहीबाट पानी वितरण हुनेछ । अन्डर ग्राउन्डका तीन वटा टंकी, ओभरहेड ७ वटा टंकी निर्माण हुनेछन्, भने पाइप सप्लाई लाईन पनि बन्नेछन् ।
बबईमा लिफ्टिङकासाथै सोही प्राजेक्ट अन्टरगत गोलौरा, एयरपोर्टलगायत बिभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । बबई लिफ्टिङबाटर डिपबोरिङबाट प्रतिसेकेन्ड ६०/६० लिटर पानी आपूर्ति गर्न सकिनेछ ।
तुलसीपुर खानेपानीका अहिले ८ हजार भन्दा बढि धारा वितरण गरेको छ । अझै धेरै धाराको माग भएको भन्दै केही समयमा धारा खोल्ने तयारी रहेको उनको भनाई छ । यस अघि नै ३ हजार धाराकालागि फाराम भरिसकिएको भन्दै अबको २/४ महिना भित्र उनीहरुलाई धारा वितरण गरिने उपाध्यक्ष शर्माले बताए । हाल तुलसीपुर खानेपानीका मुलकोट,राम्री,चिसापानी, धैरनी,बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरि ८ वटा ग्राभेटी मुहान छन् ।
त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।
नयाँ मुहानको खोजी गर्नुकासाथै अहिले पुराना मुहानको संरक्षणकालागि संस्था सक्रिय भएको उहाँको भनाई छ । अहिले सबै निजि जग्गामा मुहान भएकाले संस्थाको नाममा ल्याउनकालागि समेत पहल भइरहेको छ ।
लाइभदाङ । २३ चैत्र २०७८, बुधबार १२:३६ बजे