
घोराही, १४ साउन ।
लुम्बिनी प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्थाका रूपमा स्थापित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा, अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सक तथा अनुभवी स्वास्थ्यकर्मीमार्फत प्रभावकारी सेवा प्रवाह गर्दै नागरिकको विश्वास जित्दै गएको छ। उपचारका लागि काठमाडौं वा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता क्रमशः घट्दै जाँदा प्रतिष्ठान आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
प्रतिष्ठानको लाइभ सेवा तथ्यांकअनुसार बिहीबार राति ९ः२५ बजेसम्म एकै दिन १ हजार ६० जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये ९४६ जनाले बहिरङ्ग (ओपीडी) सेवा, ६१ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा तथा ५३ जना बिरामी भर्ना भएर उपचाररत रहेका छन्।
आकस्मिक सेवामा उपचार लिने ६१ जनामध्ये २३ जना पुरुष र ३८ जना महिला रहेका छन्। त्यसैगरी ओपीडी सेवाअन्तर्गत ३४० जना पुरुष र ६०६ जना महिला गरी ९४६ जनाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पनि ३७२ जना सेवाग्राहीले उपचार सेवा लिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ। विभिन्न विशेषज्ञ तथा सुपर–विशेषज्ञ सेवासँगै आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, आईसीयू, एनआईसीयू, डायलाइसिस, मुटु रोग उपचार तथा जटिल शल्यक्रियालगायतका सेवा सञ्चालनमा रहेका छन्। अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकको उपलब्धताले बिरामीलाई छिटो, सहज र गुणस्तरीय उपचार सेवा प्रदान गर्न सहयोग पुगेको प्रतिष्ठानको भनाइ छ।
दक्ष विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक तथा स्वास्थ्यकर्मीको समर्पित सेवाका कारण उपचारको गुणस्तरमा सुधार आएको छ। यसका कारण दाङसँगै बाँके, रोल्पा, रुकुम, सल्यान, प्युठान, अर्घाखाँचीलगायत छिमेकी जिल्लाबाट समेत बिरामी उपचारका लागि प्रतिष्ठान आउने क्रम बढ्दै गएको छ।
प्रतिष्ठानका अनुसार स्वास्थ्य सेवामा प्रविधिको प्रयोग, सेवा व्यवस्थापनमा सुधार, बिरामीमैत्री वातावरण, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विशेषज्ञ सेवाको निरन्तर विस्तारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण रेफरल अस्पतालका रूपमा स्थापित गरिरहेको छ।
प्रतिष्ठानले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक उपकरणको व्यवस्थापन, दक्ष जनशक्तिको सुदृढीकरण तथा गुणस्तरीय, सर्वसुलभ र सहज स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। आफ्नै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रतिष्ठान निरन्तर अघि बढिरहेको जनाएको छ।



लाइभदाङ । १४ श्रावण २०८३, बिहीबार २१:४९ बजे