सेवाग्राहीलाई सहज बनाउँदै वडाः निवेदन आफै लेखिदिन्छ, फोटोकपीको पैसा लिदैन

अन्जना बिश्वकर्मा,
तुलसीपुर, २ फागुन ।
सेवाग्रही वडामा पुग्छन्, तर धेरै प्रक्रिया पुगेको हुँदैन । कसैको निवेदन मिलेको हुँदैन्, कसैको कागजात पुगेको हुँदैन । यही कारणले एक दिनमा हुने कामकालागि ३/४ दिन धाउनु पर्ने अबस्था थियो ।यही समस्यालाई समाधान गर्न तुलसीपुर ११ ले नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ ।

जहाँ सेवाग्राहीको निःशुल्क निवेदन लेखिन्छ, भने आबश्यक कागजात मिलाईन्छ । त्यस्तै निःशुल्क फोटो कपी गरिदिईन्छ ।“सेवाग्राहीलाई धेरै झनझट हुन थाल्यो, एक दिन हुने काम २/३ धाउनु पर्ने अबस्था अन्त्य गर्न नागरिक सहायता केन्द्रले भूमिका खेलेको छ”,वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो“त्यहाँबाट हामीले निःशुल्क निवेदन लेखिदिने देखि लिएर फोटोकपी गरिदिन्छौं, अन्य कागजात पनि मिलाईदिन्छौं ।”

वडा कार्यालय भनेको जनताको नजिकको सरकार रहेको र धेरै काम हुने भएकाले सहज सेवा प्रदान गर्नु आफ्नो दायित्व रहेको वडाध्यक्ष रावतले बताउनुभयो । जति सक्यो सेवालाई सहज,सरल तथा छिटो छरितो गर्नकालागि यस्तो कार्य गरिएको उहाँले बताउनुभयो ।


यस अघि फोटोकपीको १० रुपैँया र निवेदनको एकसय रुपैँया लिने गरिएको भएपनि आफूहरु निर्वाचित भएर आएपछि यसलाई निःशुल्क बनाएको वडाध्यक्ष रावतले बताउनुभयो ।

नागरिक सहायता कक्षबाट सबै तयारी भएपछि आफ्नो काम सहजै रुपमा पूरा गर्ने गरेको सेवाग्राही बुधनी चौधरीले बताउनुभयो ।“धेरै कागज पुगेका रहेनछन्, सबै कागजात उहाँहरुले मिलाईदिनुभयो”,चौधरीले भन्नुभयो“त्यसपछि एकै छिनमा काम सकियो ।”