तुलसीपुर महोत्सवमा सिसी क्यामेराबाट निगरानी

तुलसीपुर, २९ माघ ।
गत बुधवारदेखि सञ्चालित तुलसीपुर महोत्सव–२०८० लाई सुरक्षित ढंगले सञ्चालन गर्नका लागि चार तहको सुरक्षासँगै सिसी क्यामराबाट पनि निगरानी गरिएको छ ।

महोत्सवको सुरक्षाका लागि आयोजकको आफ्नै सुरक्षा गार्डको व्यवस्था गरेको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र पूर्व प्रहरी संगठनका सदस्यहरु पनि मेलाको सुरक्षाका लागि खटिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सुरक्षा निकायहरुबाट हुने सुरक्षा व्यवस्थामा कुनै कमी छैन । यद्यपि सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउँदै कुनै पनि त्रुटी नहोस् भन्ने उद्देश्यले महोत्सवको सुरक्षाका लागि आधुनिक प्रविधि पनि अपनाइएको हो ।’


महोत्सवमा प्रवेश र निकासद्वार, स्टल, स्टेचलगायतका ठाउँमा १६ वटा सिसी क्यामेरा जडान गरिएको छ । त्यस्तै आयोजकको तर्फबाट १७ जना सेक्युरिटी गार्ड, नेपाल प्रहरीका २२ जनाले चौबिसै घण्टा र सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरबाट बिहान ७ देखि बेलुका ७ बजेसम्म १५ जना सुरक्षाकर्मी खटेर महोत्सवमा सुरक्षा प्रदान गरिरहेका छन् । महोत्सवमा जडान गरिएको सिसी क्यामेराको निगरानी नेपाल प्रहरीले गरिरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

‘हालसम्म कुनै त्यस्तो सुरक्षा चुनौति त देखिएको छैन तर आगामी दिनमा पनि समस्या नआओस भन्ने उद्देश्यले सिसी क्यामेरा जडानका लागि आग्रह गरेका हौं’– उहाँले भन्नुभयो– ‘महोत्सवमा सुरक्षाका लागि सहायता केन्द्र स्थापना गरेरै सुरक्षा प्रदान गरेका छौं । रातिको समयमा पनि गस्ती गर्दै आएका छौं ।’