काँग्रेस दाङ : ९ जना प्रदेश प्रतिनिधि निर्विरोध

तुलसीपुर
३ मङ्सिर / नेपाली काँग्रेसका ९ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको १४औं महाधिबेशन अन्र्तगत शुक्रबार भएको मनोनयन दर्ता पश्चात ९ जना निर्विरोध निर्वाचित भएका हुन । जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चुर्णबहादुर चौधरी निर्विरोध हुनुभएको छ । उहाँ थारु प्रदेश महाधिवेशन प्रतिनिधिकालागि निर्वाचित हुनुभएको हो ।


त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारु तर्फकै मधु चौधरी, आदिबासी जनजाति तर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुबकुमार पुन, खसआर्य तर्फ मनोज वुढाथोकी र दलित तर्फ केशव नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै मुस्लिम तर्फका प्रदेश महाधिबेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ क्षेत्र २ (ख) अन्तर्गत हुनुहुन्छ ।

खस आर्य तर्फबाटै निर्वाचन क्षेत्र १ को (ख)बाट पुरुष तर्फका घनश्याम केसी र महिला तर्फका विना न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । अन्य पदमा भने निर्वाचन हुनेछ । निर्वाचन शनिबार बिहान ९ बजेदेखि तोकिएको छ ।