दाङ, २८ पुष । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को पहिलो साधारण सभा (एजीएम) चलिरहेको छ । एजीएमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय परामर्शदाताहरूसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् । सचिव अधिकारीले सरकार उच्च शिक्षासम्बन्धी कानुन तर्जुमा हुँदै गरेको जानकारी दिँदै त्यस निम्ति परामर्शदाताहरूसँग सल्लाह सुझाव लिँदै सहकार्य गर्न चाहेको बताएका हुन् ।
‘कन्सलटेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुँदैन, सहकार्य गर्छौं ।’ कानुन निर्माणका क्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा पनि छलफल गर्नुपर्ने उनले बताए ।
अधिकारीले नेपालबाट विद्यार्थीहरू भविष्य र रोजगारी निम्ति बाहिरिने गरेको तर्क गर्दै विद्यार्थीहरूमा देशभित्रै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास दिलाउन आवश्यक भएको पनि औंल्याए । शैक्षिक परामर्शका नाममा ठग्ने संस्थाहरूलाई कारवाही गर्न र राम्रो संस्थालाई प्रोत्साहन गर्न कानुन निर्माण गर्ने सचिव अधिकारीको भनाइ थियो ।
लाइभदाङ । २८ पुष २०८०, शनिबार २३:५० बजे