सिपि नेपालको आयोजनामा गढवामा सातौं महिला फुटबल प्रतियोगिता सुरु

आलोक भावुक
गढवा, ८ माघ।
“कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा” भन्ने मूल नाराका साथ गढवामा सातौं महिला फुटबल प्रतियोगिता २०८२ बिहीबारदेखि सुरु भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो।

प्रतियोगितामा गढवा, राप्ती र राजपुर गाउँपालिकामा सीपी नेपालद्वारा गठित ७२ वटा आमा समूहका २० देखि ६२ वर्ष उमेर समूहका महिला खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत फुटबलमा १०४ जना, कुर्सी दौडमा १४८ जना, चकलेट खेलमा ७२ जना र डोरी तान्ने खेलमा ७६ जना महिला प्रतियोगी सहभागी रहेका छन्।

गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादव, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, हर इन्टरनेशनलका विदेशी अतिथि केभिन एजकोम्भ तथा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटा लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले महिलाहरूलाई घरधन्दा र चुलोचौकाको सीमाबाट बाहिर ल्याई सामाजिक तथा मानसिक रूपमा सबल बनाउने उद्देश्यले यस्तो प्रतियोगिता महत्वपूर्ण रहेको बताए।

उनले महिलाको स्वास्थ्य, आत्मविश्वास र नेतृत्व विकासका लागि खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गरे।


त्यसैगरी राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले महिलाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउँदै यस्ता कार्यक्रमले महिला सशक्तीकरणलाई व्यवहारमा उतार्ने काम गरेको धारणा राखे। उनले स्थानीय सरकार सधैं महिलामैत्री कार्यक्रमहरूमा सहकार्य गर्न तयार रहेको समेत बताए।

राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले ग्रामीण क्षेत्रका महिलाहरूलाई खेलकुदमार्फत अघि बढाउने सीपी नेपालको प्रयास प्रशंसनीय रहेको बताउँदै महिलाहरूको आत्मसम्मान र सामाजिक पहिचान निर्माणमा प्रतियोगिताले ठूलो योगदान दिने विश्वास व्यक्त गरे।

सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले महिलाहरू सधैं घरभित्र सीमित हुने अवस्थालाई तोड्दै खेलकुदमार्फत बाहिर ल्याई शारीरिक, मानसिक तथा सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला खेलाडी, सीपी नेपालका कर्मचारी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।