गुरुकुल एकेडेमीद्वारा ५ करोड बराबरको शेयर आह्वान

देव राज कँडेल
घोराही, २९ मंसिर ।

गुरुकुल एकेडेमीले रु.५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेग्रुपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसिपुर र लमहिका लागि रु.५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष ई.अनन्त राज घिमिरेले जानकारी दिए ।

गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीको अनुमानित लागत करीव रु.२५ करोड रहेको सञ्चालक समितिले जानकारी दिएको छ । जसमध्ये ५१ प्रतिशत शेयर गुरुकुल एकेडेमीको रहने र ४९ प्रतिशत शेयर स्थानीय व्यक्ति ,बुद्धिजीवी , शिक्षाप्रेमी लगायतको रहने पनि सञ्चालक समितिले जनाएको छ । गुरुकुल एकेडमीको ५१ प्रतिशत शेयरमध्ये ५ करोड बराबरको शेयर आह्वान गरिएको हो ।


शेयर लगानीको लागि पहिलो प्राथमिकता आफ्ना अभिभावक, कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दिइने पनि संचालक समितिका अध्यक्ष घिमिरेले जानकारी दिए । गुरुकुल एकेडेमीको शेयर लिन इच्छुक व्यक्तिहरूले न्युनतम रु.१० लाख देखि अधिकतम रु.५० लाखसम्म लिन पाउने छन् । सोही अनुसार कबोल रकममध्ये ५० प्रतिशत रकम यही पौष १५ गतेभित्र विद्यालयको खातामा जम्मा गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम फाल्गुण २५ गतेभित्र जम्मा गर्नुपर्ने छ । प्रति कित्ता १०० रुपैयाको दरले शेयर आह्वान गरेको विद्यालयले जनाएको छ ।

यस सम्बन्धी जानकारी लिनको लागि विद्यालयले ३ जना व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डी.सी., विद्यालयकी लेखापाल गोमा गौतम र सोधपुछ अधिकृत अस्मिता सुनारलाई सम्पर्क गर्नुपर्ने विद्यालयले जनाएको छ । र , तोकिएका व्यक्तिहरुसंग मात्र जानकारी लिन र रकम विद्यालयको खातामा मात्र भुक्तानी दिन समेत विद्यालयले अनुरोध गरेको छ ।