
दाङ, ११ मंसिर । दाङको राप्ती गाउँपालिले केही समय अघि देखि नै फोहरलाई उचित ब्यबस्थापन गरिरहेको छ । राप्ती नदी किनारको उकास जग्गालाई प्रयोग गरि २०८० साउन देखि पालिकाले फोहर संकलन गरेर त्यसबाट ब्लक इट्टा उत्पादन गरिरहेको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार त्यहाँबाट उत्पादन भएका ब्लक इट्टालाई पालिकाले आफ्नो प्राङ्गणमा समेत प्रयोग गरिसकेको छ ।
वडा नं.२ कटाहाको पुन्यपुर क्षेत्रमा नदी उकासको करिब ७ कठ्ठा जग्गामा त्यसरी फोहर ब्यबस्थापन गरिएको अध्यक्ष विष्टले बताए । इआईए र आईईई गरेर विज्ञको रिपोर्ट अनुसार नै सोही क्षेत्रमा फोहर ब्यबस्थापन गरिएको उनको भनाई छ । त्यसरी फोहर ब्यबस्थापन गर्न प्लाष्टिक जन्य बस्तुबाट ब्लक इट्टा तयार गर्ने गरिएको हो ।
कुहिने फोहरबाट मल बनाउने समेत तयारी रहेको अध्यक्ष विष्टले बताए । अहिले पालिकाले गल्ने र नगल्ने फोहर ब्यबस्थापनकालागि ‘ट्रोमेल स्क्रिन प्लान्ट कन्भेयर बेल्ट मेसिन’ खरिद गर्न लागेको छ । त्यसकालागि ४५ लाखको टेन्डर समेत गरिसकेको उनको भनाई छ । त्यो मेसिन आएसंगै फोहर बर्गीकरणमा सहज हुनेछ । “गएको बर्ष फोहर बर्गीकरण गर्ने मेसिन खरिदकालागि संघीय सरकारले बजेट पनि पठाएको थियो, त्यो बजेट प्रदेश सरकारको खातामा थियो”,उनले भने “तर, त्यो बजेट काम नगरि फ्रिज भयो, अहिले त्यसले गर्दा समस्या निम्त्याएको छ ।”
फोहर बर्गीकरणकै लागि भनेर २५ जना कर्मचारीले समेत अहिले काम पाएका छन् । तर, पनि केही समय यता फोहर डम्पिङ हुँदा स्थानीय आक्रोसित हुने अबस्था आएको भन्दै त्यो समस्या पनि वार्ता मार्फत समाधान गर्ने तयारी गरिएको उनले बताए । सोही स्थानमा फोहर डम्पिङ गर्नकालागि भएको सहमति अनुसार नै काम गरिरहेको समेत अध्यक्ष विष्टको भनाई छ । अध्यक्ष विष्टका अनुसार सोही फोहर ब्यबस्थापन भइरहेको वडालाई अन्य वडा भन्दा बढि बजेट दिने, गाउँसम्म सडक कालो पत्रे गर्ने, बगर क्षेत्रमा रुखविरुवा रोप्ने जस्ता कार्य भएको उनले बताए । सोही ठाउँमा दैनिक ५ ट्याक्टर फोहर उठ्ने गर्छ ।
तर, पछिल्लो समय स्थानीयले सोही स्थानमा तालाबन्दी गरेको भन्दै त्यसलाई वार्ताका माध्यमबाट हल गर्न खोजिरहेको अध्यक्ष विष्टले बताए । उनका अनुसार फोहर ब्यबस्थापन सबैको दायित्व भित्र पर्ने भएकाले यसलाई त्यही अनुसार बुझ्न पनि आग्रह गरे । विहीबार घोराहीमा पत्रकार सम्मेलन गरि अध्यक्ष विष्टले यस्तो बताए ।



लाइभदाङ । १२ मंसिर २०८२, बिहीबार २१:२६ बजे