सयपत्री खेतिमा विद्यार्थीहरु

तुलसीपुर, १८ भदौ ।
विहान पढाई अनि दिउसो सयपत्री खेतिमा देखिन्छन्, विद्यार्थीहरु । पढाई किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक तथा ब्यबहारिक हुने भन्दै विद्यार्थीहरु सयपत्री खेतिमा पनि तल्लिन छन् । दाङ तुलसीपुर स्थित गोरखा मोडेल कलेजमा विविएस अध्ययनरत विद्यार्थीहरुले तुलसीपुर ६ गोलौरामा ७ कठ्ठा जग्गा भाडामा लिएर ब्यबसायिक सयपत्री खेति गरेका छन् ।

कलेजमा विविएस प्रथम, द्धितिय र चौथो बर्षका ८० जना विद्यार्थीहरु मिलेर सामूहिक खेति गरेको विद्यार्थी पारस न्यौपानेले बताए । “पढाई किताबी ज्ञान मात्रै पनि होईन्, कृषिमा जोडिनी, ब्यबसायीक बन्नु पनि ज्ञान हो”,उनले भने “त्यसैले पनि हामी यो कार्यमा सामेल भएका हौं ।” विद्यार्थीहरुले ‘कर्म ५५५’ जातको सयपत्री खेति गरेका हुन् ।

सबै विद्यार्थीहरुले सामूहिक पैसा उठाएर खेति सुरु गरेका हुन् । अहिलेसम्म एक लाख २० हजार रुपैँया खर्च भइसकेको छ । जसबाट ६ लाख आम्दानी लिने लक्ष्य रहेको विद्यार्थी सिर्जना खड्काले बताईन् । उनका अनुसार हाल चार हजार विरुवा रोपिएको छ । ति विरुवा हेर्नकालागि टिम बनाएको समेत उनले बताईन् । “रोप्ने मात्रै होईन्, त्यसमा गोडमेल,पानी चहार्ने काम पनि छ”,उनले भनिन् “त्यसकालागि हामीले टिम बनाएर काम गरिरहेका छौं ।”


विद्यार्थीहरुलाई पढाईसंगै उद्यमसिलतामा जोड्न पनि सयपत्री खेतिमा जोडेको कलेज प्रमुख पूर्णबहादुर डाँगीले बताए । “विद्यार्थीलाई किताबी ज्ञान मात्रै दिने होईन्, हामीले उद्यमसिलतामा पनि जोड्नु पर्छ”,उनले भने “त्यसैले पनि विद्यार्थीहलाई उद्यममा सक्रिय बनाउन यो खेति सुरु गरिएको हो ।” यो कार्यले विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न मद्दत गर्ने उनको भनाई छ ।

विद्यार्थीहरुले सयपत्री विक्री गरेर आएको आम्दानीले कफिशप, पानीपुरीलगायतका ब्यापार गर्ने समेत योजना बनाएका छन् । सयपत्रीलाई माला बनाएर बेच्ने उनीहरुको योजना छ । साभारः अग्रिम साप्ताहिक