
आलोक भावुक
गढवा,२९ कार्तिक।
गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाको निरन्तरतामा आज वडा नम्बर ६ हांसीपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
हाँसीपुर उद्यमी महिला समूहको सक्रिय आयोजनामा सम्पन्न भएको कार्यक्रममा महिलाहरूको उद्यमशीलता, पशुपालन क्षमताको विस्तार र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखि बाख्राहरू लाभग्राही सदस्यहरूलाई प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले महिलाहरूको सक्रियता र परियोजनाबाट आएको सकारात्मक परिवर्तनप्रति खुशी व्यक्त गर्दै भिटा परियोजना गाउँमा आर्थिक रुपान्तरणको आधार बन्दै गएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो “दोस्रो पुस्ताका बाख्रा फेरि समुदायमै हस्तान्तरण हुनु आफैंमा दिगो विकासको बलियो संकेत हो। महिलाहरू यस्तो मेहनतका साथ उद्यमशीलतामा सक्रिय हुँदा गाउँ आफैँ समृद्ध दिशातिर अघि बढ्छ। यसले आत्मनिर्भरता र साझा जिम्मेवारी दुवैलाई मजबुत बनाउँछ।”
त्यसैगरी भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले परियोजनाले समुदायलाई उद्यमशीलताको बाटोमा अघि बढाएको उल्लेख गर्दै बाख्रा हस्तान्तरण केवल वितरण मात्र नभई जिम्मेवारी र आर्थिक व्यवस्थापन सिकाउने प्रक्रिया भएको बताउनुभयो । उहांका अनुसार “भिटा परियोजनाको मूल लक्ष्य समुदायलाई स्वरोजगार र आत्मनिर्भर बनाउनु हो। दोस्रो पुस्ता हस्तान्तरणले उद्यम चक्रलाई बलियो बनाएको छ, र आगामी दिनमा समूहहरूलाई अझ प्रभावकारी तालिम तथा प्राविधिक समर्थनमार्फत थप सशक्त बनाइनेछ।”
कार्यक्रममा ६ नं। वडा सदस्यहरू दिनामणी आचार्य, गोबिन्द रोका मगर, सामुदायिक सहजकर्ता तथा उद्यमी महिला समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले दोस्रो पुस्ता बाख्रा हस्तान्तरणले महिलाहरूको आत्मविश्वास बढाएको, पशुपालन व्यवसायमा सहकार्यको वातावरण निर्माण गरेको र परिवारको आर्थिक सुधारमा प्रत्यक्ष योगदान पुगेको अनुभव व्यक्त गरेका थिए।
समूहको निरन्तर मेहनत, भिटा परियोजनाको सहकार्य र स्थानीय तहको साथले मानपुर क्षेत्रमा उद्यमशीलताको नयाँ ऊर्जा थपिएको अनुभूति आजको कार्यक्रमले दिलाएको छ।



लाइभदाङ । ३० कार्तिक २०८२, शनिबार १९:०३ बजे