मुख्यमन्त्री चौधरीद्वारा राजीनामा

दाङ,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । विहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन् । उनले प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै प्रशासनलाई चुस्त,दुरुस्त बनाउन नसकेको बताए ।“हामीले प्रशासनलाई चुस्त, दुरुस्त राख्न सकेनौं”,उनले भने “सत्ताको चाकडी गर्ने प्रबृतिले प्रशासन अघि बढ्न सक्दैन ।” कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने गरेको उनको भनाई छ । साथै उनले सत्ता भनेको अस्थायी हुने भन्दै संघीयता जोगाउनकालागि सबै एकमतका साथ अघि बढ्नु पर्ने बताए ।

केन्द्रको सत्ता समीकरण फेरिएसंगै लुम्बिनीमा पनि सत्ता समिकरण फेरिएको छ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दल सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्क बहादुर बस्नेतले पाँच बुदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतकालागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०(सभामुख बाहेक), जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादीका एक जना र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।


माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले सुंसदीय दलका नेता लिला गिरी, जसपाका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरि ५ बुँदे समझदारी समेत बनेको हो ।