
काठमाण्डौ, १२ चैत । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा आज काठमाण्डौको माइतीघरमा प्रदर्शन भएको छ । स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले आज प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘लोडशेडिङ चाहिँदैन, उज्यालो नेपाल जिन्दावाद, मन्त्रिपरिषद्को निर्णय खारेज गर’ लगायतका नारा लगाएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले समेत विरोध गरेका छन् ।
२०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाई सरकारले हटाएको हो । सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।



लाइभदाङ । १२ चैत्र २०८१, मंगलवार १६:११ बजे