दाङमा रैथाने ‘तिल्की’ धान खेति

दीपक बोहरा
दाङ,७ भदौ ।
दाङमा रैथाने ‘तिल्की’ धानको खेतिको सुरुवात गरिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको ‘तिल्की’ धानको खेति सुरुवात गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ विजौरीमा करिब दुई विघा जग्गा लिजमा लिएर तिल्की जातको धानको खेति गरिएको हो । पर्याबरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई अर्गानिक खेति अन्तर्गत तिल्की धानको खेति सुरु गरिएको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए ।“अर्गानिक खेति हराउँदै गयो, तिल्की, सिम्ठारोजस्ता धान रोप्न छोडियो”,उनले भने“मानव स्वास्थ्यकालागि अर्गानिक खेति अपरिहार्य छ, त्यसैले हामीले दाङमा यो सुरुवात गरेका हौं ।”

पूर्व मुक्त कम्लरीहरुले सञ्चालन गरेको गन्यारी कृषि सहकारी संस्था मार्फत उक्त धान खेति सुरु गरिएको उनले बताए । तिल्की धानको चामल मिठो पनि हुने र गर्मी पनि खप्न सक्ने धान हो । यो जातको धान विगतमा दाङमा धेरैले लगाउने गर्थे । जुन धान दाङको पहिचान पनि थियो । तर, पछिल्लो समय हाईव्रिड धान नै कृषकको रोजाई बनेपछि यो धान लोप हुने अबस्थामा थियो ।

त्यस्तै सोही सहकारीले १० कठ्ठा जग्गामा रैथाने सिमठारो जातको धान पनि लगाएको छ । धान भित्र्याएपछि सोही जग्गामा रैथाने प्याज,लसुन र आलु खेति गर्ने तयारी रहेको सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले बताइन । उनका अनुसार अझै २५ हेक्टर क्षेत्रफलको जग्गा लिजमा लिएर अर्गानिक खेति गर्ने तयारी छ ।“हामीले अहिले तुलसीपुरमा रैथाने जातको तिल्की र सिमठारो जातको धान खेति गरिरहेका छौं”,उनले भनिन्“धान भित्र्याएपछि प्याज,लसुन र आलु खेति गर्ने छौं, हामीले २५ हेक्टर क्षेत्रफल जग्गा लिएर खेति गर्ने तयारी गरेका छौं ।” सबै खालका खेतिमा अर्गानिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताए ।

उनले १०/१५ बर्षमा दाङलाई नै अर्गानिक उपत्यका बनाउने योजना अनुसार यो कार्यक्रम तयार गरेको बताए । यो कार्यक्रम दुई बर्ष चलेपनि प्रत्येक किसानलाई अर्गानिक खेतिका बारेमा बुझाउने उद्देश्य रहेको समेत उनले बताए । लुम्बिनी प्रदेश सरकारले दाङलाई तिल्की धान र आलुको हब बनाउने योजना समेत बनाएको छ ।


बिषादी जन्य खानेकुराले गर्दा मानिशमा क्यान्सरजन्य रोग लाग्ने भन्दै अर्गानिक खानेकुरामा जोड दिनुपर्ने कृषि ज्ञान केन्द्र दाङका प्रमुख नरेश धितालले बताए ।अहिले स्थानीय सरकारहरुले पनि अर्गानिक खेतिलाई जोड दिने गरेको छन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अर्गानिक खेतिका बारेमा किसानहरुलाई बुझाउने गरि कार्यक्रम तय गरिएको बताईन ।“हामीले किसानहरुलाई अर्गानिक खेतिका बारेमा बुझाउने गरि कार्यक्रम तय गरेका छौं”,उनले भनिन् “त्यसो गर्न सकेमा अर्गानिक खानेकुरा बजारमा पाउन सकिन्छ ।”

प्रदेश सरकारले पनि अर्गानिक उत्पादनलाई प्राथमिकता राखेको प्रदेशका कृषि तथा भूमि ब्यबस्था मन्त्री भण्डारीलाल अहीरले बताए ।“पुर्खाहरुले अर्गानिक मल प्रयोग गर्दा पनि धेरै उत्पादन हुन्थ्यो”,उनले भने “अब हामीले पनि अर्गानिक उत्पादनमा जोड दिन सकेमा मानव स्वास्थ्यलाई फाईदा पु¥याउथ्यो, यस तर्फ प्रदेश सरकार गम्भीर छ ।”

किसानलाई अर्गानिक खेतितर्फ आकर्षित गराउनकालागि बिभिन्न तालिम तथा सामग्री उपलब्ध गराईने भएको छ । त्यसकलागि संयुक्त राष्ट्र संघीय विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमले ४८ लाख सहयोग गरेको छ ।