कुलोमा टहरा बनाउदै गरेका गेहेन्द्र भन्छन्ः दुनियाले बाटाघाटा त मिचिसके

दाङ, २२ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुरमा बरुवागाउँले कुलोको माथि एउटा टहरा बन्दैछ । मुनी कुलो छ, त्यही कुलोमा वाल बाँधेर टहराई बनाईदैछ । त्यसरी कुलाको माथि व्यवसायिक सटरहरू बनाउन लागिरहेका छन्, पूर्व सांसद तथा काँग्रेसकै बहालवाला केन्द्रीय सदस्य गेहेन्द्र गिरी । जोे तुलसीपुरको जमिनदार मध्येका एक हुन् । तर पनि उनले एउटा सुकुम्वासी जसरी नै कुलो माथि टहरा बनाइरहेका छन् ।

आफ्नो घरको उत्तरतर्फ रहेको कुलोमा उनले यसरी टहरा बनाउन लागेका हुन् । गोदामकालागि प्रयोग गर्ने गरि १० वटा भन्दा बढि सटरहरु निकाल्न लागिएको छ । उनले भने यसरी प्रयोग नहुँने अवस्थामा रहेको कुलोमा संरचना बनाउँदा फरक नपर्ने तर्क गरे । त्यसमा पनि टहरा बनाउँदा कुलोलाई संरक्षण नै भएको उनको भनाई छ । “मान्छेले बाटाघाटा, खोला सबै जफत गरिसके”,उनले भने “हामीले कुलो पनि संरक्षण हुने गरि माथि सटर निकाल्दैछौं ।”  कुलोले वरिपरीको जग्गा कटान गरेकाले पनि तटबन्धको पनि काम हुने र व्यवसायिक सटरहरू पनि निस्किने उनले बताए । यसले  दुबै तिर फाईदा हुने उनको भनाई छ ।

जग्गाको विषयमा गिरी पटक–पटक विवादित हुँदै आएका छन् । यस अघि बजार भित्रकै जग्गा खाली राख्दा बजार विस्तारमा समस्या हुने गरेको भन्दै आलोचना पनि हुने गरेको थियो । घोराही रोड स्थित जग्गामा लामो समयदेखि मोहीको विवाद थियो । हाल त्यो जग्गामा मोहीको विवाद सल्टिएपछि प्लटिङ गरेर विक्री गर्न थालिएको छ ।  गिरी पश्चिम दाङका पुराना नेता हुन् । उनी २०५४ सालमा तत्कालिन दाङ क्षेत्र नं. ४ बाट निर्वाचित सांसद पनि हुन् । त्यसयता भने उनी कुनै पनि लाभको पदमा भने गएका छैनन् ।

२०६४ र २०७० सालको निर्वाचनमा उनी भाग लिन पाएनन् । २०७४ सालको स्थानीय निर्वाचनमा उनी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा उम्मेदावर बनेपनि एमाले नेता घनश्याम पाण्डेसंग पराजित भए । त्यसपछि उनी २०७९ सालको निर्वाचनमा पनि नगर प्रमुखकै उम्मेदवार बने । त्यसबेला पनि एमाले नेता टिकाराम खड्कासंगै हार व्यहोरेका थिए ।


बरुवागाउँले कुलोको माथि सटर निकाल्ने गेहेन्द्र गिरी पहिलो ब्यक्ती भने होइनन् । तुलसीपुर स्थित नाम चलेको एकान्त होटेलले समेत कुलोको माथि ठूला–ठूला भवन बनाइरहेको छ । यसरी सार्वजनिक सम्पतिलाई कसैले पनि हडप्न पाइदैन ।  खेति योग्य जमिन पनि विस्तारै प्लटिङमा परिणत भएपछि यो कुलो हराउने हो की भन्ने स्थानीयको चिन्ता रहेको छ । त्यो कुलो कुनै बेला २० मिटर भन्दा बढि थियो । तर, अहिले त्यो ३÷४ मिटर पनि छैन । साभारः अग्रिम साप्ताहिक