बर्षादले देउखुरीका दर्जन बढि घर डुवानमा

दीपक बोहरा
दाङ,९ साउन ।
दाङ देउखुरीका दर्जन बढि घर डुवानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्षादले गर्दा देउखुरीको बिभिन्न स्थानमा घर डुवानमा परेका छन्, भने केही घर भत्किएका छन् । दाङ राजपुर गाउँपालिका वडा नं.५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । राप्ती नदीमा पानीको सतह बढेकाले विहान ८ बजेतिर ति घरहरु डुवानमा परेका थिए ।

त्यस्तै लमही नगरपालिका वडा नं. १ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुवानमा परेका छन् । डुवानमा परेका घरहरुबाट सरसामान र मानिसहरुलाई उद्दार गर्ने कार्य भइरहेको छ । दिउसो साढे ११ बजेतिर ति स्थानका घरहरु डुवानमा परेका हुन् ।

लमही १ सुनडबरी निवासी ७० बर्षीय निमबहादुर साकीको फुसले छाएको घरमा पानी पसेको र घर भित्र रहेका दुई जनालाई उद्दार गरिएको छ । त्यस्तै लमही ३ कान्तिपुरका रामबहादुर कुमालको १ तले घरमा पानी पसेको र डुवान पछि छतमा रहेकाहरुको उद्दार जारी रहेको, सोही ठाउँका शुसिल कुमालको २ तले र दयाराम चौधरी घर डुवानमा परेका छन् । कुमाल र चौधरीको घरबाट डुवान अघि नै मानिस विस्थापित भएका थिए ।


बर्षादले घर भत्कियो
बर्षादले गर्दा दाङमा एक घर भत्किएको छ । राजपुर गाउँपालिका वडा नं.२ निवासी ३० बर्षीया पुष्पा नेपालीको एक तले खरले छाएको घर भत्किएको हो । कच्ची घरको एकातर्फको भित्ता मंगलबार विहान १० बजेतिर भत्किएको हो । उनलाई नजिककै ग्वाते कुमालको घरमा सारिएको छ ।

सडक अबरुद्ध
नियमितको बर्षादले कालाकाटे–गोबरहिडा सडक अबरुद्ध भएको छ । हुलाकी सडक अन्तर्गतको उक्त सडक विहानदेखि अबरुद्ध भएको हो । विभिन्न स्थानमा बाढी आएपछि सडक अबरुद्ध भएको हो । त्यस्तै बेला–लमही सडक खण्ड अन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ ।

दाङमा खोलाले स्कार्पियो खोलाले बगायो
दाङमा एक खोलाले स्कारपिओ बगाएको छ । तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलाले बा ११ च ९५११ नम्बरको स्कारपिओ बगाएको हो । घोराही तर्फ जाँदै गरेको उक्त स्कारपिओलाई बिहान पौंने ११ बजेतिर बगाएको प्रहरीले बताएको छ । तर, त्यसमा चालक मात्रै सवार थिए । उनको उद्दार गरिसकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । बगाएको स्कारपिओको पनि साढे ११ बजेतिर निकालिएको छ । सौडियार–सर्रा सडक अन्तर्गत पर्ने उक्त खोलाले स्कारपिओ बगाएको हो ।