स्थानीय तह उपनिर्वाचन : आज ४१ पदका लागि मतदान हुँदै

काठमाडौं, १६ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार ४१ पदका लागि मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान र मतदान सम्पन्न भएसँगै मतगणनासम्मको तयारी पूरा भएको बताए । ‘शनिबार साँझसम्ममा सबै स्थानमा मतदान केन्द्र बनिसकेका छन् । सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री, कर्मचारी पुगिसकेका छन्, सुरक्षाको व्यवस्था मिलाइसकिएको छ,’ उनले भने, ‘आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान हुने व्यवस्था मिलाइसकिएको छ । मतदान सकिएलगत्तै मतगणना हुनेछ । मतपरिणाम आयोगको वेबसाइटमार्फत अद्यावधिक गरिनेछ ।’

आयोगका अनुसार नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३३ वडाध्यक्षका लागि मतदान हुनेछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनका लागि दुई लाख २६ हजार ७९९ मतदाता (१ लाख ११ हजार ८९६ महिला र १एक लाख १४ हजार ९०० पुरुष र तीन अन्य) छन् । दल र स्वतन्त्रका गरी ३७६ उम्मेदवार मैदानमा छन् ।

आयोगले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र तथा स्थायी लेखा नम्बर परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक, गर्भवती, फरक क्षमता भएका व्यक्ति, बिरामी, किरियापुत्री र अन्य लिंगीलाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोग प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित निर्वाचन क्षेत्रमा बिदाको व्यवस्थासहित आवश्यक निर्देशन दिइएको बताइन् ।


मतदानका लागि दुई लाख ५९ हजार मतपत्र र निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको छ । मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङका निर्वाचन चिह्न छन् । उम्मेदवारका आधारमा प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्रे डिजाइन गरिएको छ ।

सुरुमा आयोगले ४४ स्थानमा उपनिर्वाचनको प्रक्रिया अगाडि बढाएको थियो । २ मंसिरमा मनोनयनका क्रममा एक मात्र उम्मेदवारी परेपछि ओखलढुंगा र कैलाली जिसस प्रमुखमा क्रमशः कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित बनेका थिए । त्यस्तै, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित बने । तीन स्थानमा निर्विरोध निर्वाचित भएसँगै बाँकी ४१ स्थानका लागि मतदान हुन लागेको हो ।

संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा निर्वाचन हुँदै छ । त्यसैले दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठा बनाएका छन् । अहिले निर्वाचन हुन थालेका स्थानमध्ये ०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले २७, माओवादीले सात, एमालेले आठ, जसपाले एक र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए ।

दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्त
शनिबार साँझसम्ममा सबै स्थानमा मतदान केन्द्र बनिसकेका छन् । सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री, कर्मचारी पुगिसकेका छन्, सुरक्षाको व्यवस्था मिलाइसकिएको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान हुने व्यवस्था मिलाइसकिएको छ । मतदान सकिएलगत्तै मतगणना हुनेछ । मतपरिणाम आयोगको वेबसाइटमार्फत अद्यावधिक गरिनेछ ।