तुलसीपुरमा सारंगी संरक्षण अभियान

गोकर्ण पौडेल  
तुलसीपुर, १६ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन औँलामा सीमित व्यक्तिलाई मात्रै आउँछ । त्यही औँलामा गनिने संख्या बढाउने अभियानमा प्रदेश सरकार रहेको छ । लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयले संकटको पेशा बचाउने अभियानमा रहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संकटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो । उहाँले गन्धर्व समुदायको संकटमा परेको पेशा बचाउने दायित्व सरकारको भएको बताउनुभयो । नगरप्रमुख खड्काले राष्ट्रिय बाजाकारुपमा रहेको सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्धन गरेर व्यवसायीकरुपमा अघि बढाउन सकिने बताउनुभयो । उहाँले मौलिक संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्ता माझ पुर्‍याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवर्धन गरेको छ । त्यही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका मध्येका एक हुनुहुन्छ ७० वर्षिय शालिकग्राम गन्धर्व । उहाँलाई यो पेशा नै कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता छ । शालिकग्राम भन्नुहुन्छ – सारङ्गी बाजामा चार वटा तार र त्यसबाट ३६ वटा स्वर निकाल्न सकिन्छ यसमा त राष्ट्रियता पो झल्किन्छ ।


बाजा बनाउनेका लागि सीप सिकाउँदै आउनुभएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटो आवश्यक सारङ्गी बनाउन सकिने बताउनुहुन्छ । उहाँले सीप सिकाउँदै २५ वटा सारङ्गी तयार पार्नुभएको छ । उहाँहरूले बनाएका सारङ्गीको बजार मूल्य पाँचदेखि ३५ हजार रहेको छ । एउटा सारङ्गी पाँच दिनसम्म बनाउन सकिने गणेश गन्धर्व बताउनुहुन्छ । उहाँले भन्नुभयो -राज्यकातर्फबाट सीप प्रवर्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै संकटको सारङ्गी बचाउन सकिन्छ ।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा सारङ्गी बाजाका लागि संगीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्धन गरिएको बताउनुभयो । उहाँले उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने बताउनुभयो । उहाँले सारङ्गी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिने बताउनुभयो ।