हस्नापुर बेलटाकुरा खानेपानीमा नयाँ नेतृत्व चयन

तुलसीपुर, १५ पुष ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित हस्नापुर बेलटाकुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ८ औं साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

       

समितिका अध्यक्ष घमण्ड बहादुर मल्लको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ११ वडा सदस्य यज्ञ बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं स्वास्थ्य चौकि बेलटाकुराका प्रमुख चित्र बहादुर वलीको विशिष्ट आतिथ्यमा सभाको उद्घाटन भएको थियो ।

सभामा बोल्ने बक्ताहरुले जीवन सङ्ग जोडिएको खानेपानी शुद्धीकरणमा जोड दिएका थिए । उनिहरुले सामाजिक कार्यमा समेत खानेपानी संस्थाले हातेमालो गरि अघि बढ्नुपर्नेमा जोड दिएका थिए । समितिका उपाध्यक्ष मान बहादुर डागिको स्वागत मन्तव्यबाट सुरु भएको सभामा काङ्ग्रेसका वडा सभापति हेम बहादुर वली, एमालेका शन्तोष केसी, समाजसेवी अर्जुन केसी लगायतले बोलेका थिए ।


सभामा कोषाध्यक्ष हरी प्रसाद वलीले आर्थिक बर्ष २०७८/०७९ मा भएको ३१ लाख ९२ हजार १० रुपैयाँ बराबरको आय ब्यय प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रमको सहजिकरण सचिव गोकर्ण खत्रीले गरेका थिए । साधारण सभाले नयाँ पाइप लाइन विस्तार गरि थप धारा वितरण तथा ब्यबस्थित गर्ने निर्णय पारित गरेको छ । यस्तै कम्प्युटर सिस्टमबाट विलिङ्ग गर्ने योजना पनि अघि सारेको छ ।

यसैबीच सभाको बन्द सत्रले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गोकर्ण खत्रीको अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । जस्को उपाध्यक्षमा टेकानन्द देवकोटा, सचिवमा तेज बहादुर चन्द,कोषाध्यक्षमा हरि प्रसाद वली रहेका छन । सदस्यहरुमा जित बहादुर पुन,थुम बहादुर नेपाली, अजिता भण्डारी लगायतका रहेका छन ।

समितिको नया नेतृत्व चयनको लागि शुसिला डिसि संयोजक इन्द्रमणि खड्का र बसन्त परियार सदस्य रहेको समिति निर्माण भएको थियोे । उक्त समितिले नयाँ नेतृत्व चयन गरेको थियोे । खानेपानी सस्थाबाट ४ सय ५ घरमा धारा वितरण भएको छ ।