रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ९ जना घाइते

रुकुम पश्चिम, ९ असार ।
कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर सभापति खड्कासहित ९ जना घाइते भएका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ घारीपाखामा दुर्घटनामा परेको हो ।


भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो । स्टेयरिङ अकस्मात घुमेपछि अनियन्त्रित भएर जीप पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।