विद्यार्थी बलात्कारको आरोपी शिक्षक पक्राउ

दाङ, ७ जेठ ।
होस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेका शिक्षक पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीमा होस्टेलमा बसी कक्षा १० मा अध्ययन गर्ने १६ वर्षकी छात्रालाई शान्तिनगर गाउँपालिका–७ बस्ने ३५ वर्षका शिक्षक खुमानन्द पौडेलले ललाई फकाई बलात्कार गरेको आरोप पीडित छात्रा र अभिभावकले लगाएका थिए ।


२०७९ चैत्र २१ गते पीडित पक्षले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएसँगै भागेर भारत पुगेका पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो ।

पौडेललाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।