
तुलसीपुर, २४ भदौ ।
तीज केवल एउटा पर्व मात्र होइनस यो गीत, नृत्य र पुस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिको जीवन्त उत्सव पनि हो। दाङको तुलसीपुरमा जब नेसनल प्याब्सन (एनप्याब्सन) दाङले बुधबार आयोजना गरेको तीज विशेष जिल्ला स्तरीय नृत्य प्रतियोगिताको मञ्च सजियो, वातावरण सांस्कृतिक रौनकताले भरियो।
किताबका पाना र कक्षाकोठाको नियमित दिनचर्याबाट अलि पर हट्दै १४ वटा विद्यालयका बालबालिकाहरू जब परम्परागत पहिरन र सांगीतिक धुनमा छमछमी नाचे, मञ्चमा प्रतिभा र मौलिकताको सुन्दर संगम देखियो। विद्यार्थीहरूको त्यो कला, जोस र सांस्कृतिक लगावलाई निर्णायकहरू मनोज लामिछाने र निकित बिकले नजिकबाट नियालिरहेका थिए।
यस उत्सवले केवल नृत्य प्रतिस्पर्धा मात्र गराएन, संस्कृति जोगाउने र भाइचारा अभिवृद्धि गर्ने सन्देश पनि दियो। कार्यक्रममा प्रमुख अतिथि सुवोध कुमार डाँगी, जिल्ला उपाध्यक्ष ठाकुर डाँगी, तुलसीपुर नगर अध्यक्ष सुमन केसी र पत्रकार दीपक बोहराले तीजलाई भाइचाराको पर्वका रूपमा मनाउनुपर्ने र यसका संस्कार तथा संस्कृति संरक्षणमा सबै जुट्नुपर्ने विचार व्यक्त गरे।
कडा प्रतिस्पर्धात्मक प्रस्तुतिहरूबिच अन्ततः ज्ञान ज्योति सेकेन्डरी स्कुल तुलसीपुर प्रथम हुन सफल भयो। त्यसैगरी शिखा सेकेन्डरी स्कुल तुलसीपुर द्वितीय, मिडवेष्ट प्वाइन्ट एकाडेमी शान्तिनगर तृतीय र सगरमाथा सेकेन्डरी स्कुल तुलसीपुरले सान्त्वना स्थान हासिल गरे। विजयी विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता, उपाध्यक्ष शरद गौतमको स्वागत मन्तव्य एवं सचिब छविकुमार वलीको सहजीकरणमा कार्यक्रम भएको हो ।



लाइभदाङ । २४ भाद्र २०८३, बुधबार १९:५१ बजे