गुरुजजुरमा विव्यस अध्यक्षद्वारा शिक्षक माथि कुटपिट

दीपक बोहरा,
दाङ,१ जेठ ।
दाङको एक विद्यालय व्यबस्थापन समिति अध्यक्षले दुई शिक्षकमाथि कुटपिट गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौर स्थित गुरुजजुर माविका अध्यक्ष लोकमणी पोख्रेलले विद्यार्थीलाई पढाई रहेको अबस्थामा दुई शिक्षकमाथि कुटपिट गरेका हुन् ।

विद्यालयका पूर्व प्रधानाध्यापक प्रमोद आचार्य र पूर्व सहायक प्रधानाध्यापक झग्गु केसीमाथि हातपात गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । उनका अनुसार दुबै पक्षलाई कार्यालयमा बोलाएर छलफल समेत गरिएको छ ।

सोमबार दिउसो १२ बजेतिर अध्यक्ष एक्कासी गएर ति शिक्षकहरुमाथि कुटपिट गरेको प्रहरीले बताएको छ । ‘क्यालेन्डर’ छपाईका विषयमा विवाद हुँदा हातपातको स्थिति सिर्जना भएको हो । नाम राख्ने क्रममा बरियतामाथि तलमाथि भएको भन्दै शिक्षक आचार्य र केसीले आईतबार क्यालेन्डर च्यातेका थिए ।


त्यही विषयलाई लिएर अध्यक्ष पोख्रेलले शिक्षक माथि हातपात गरेको प्रहरीले बताएको छ ।‘आचार्य र केसीले आफू भन्दा जुनियर मान्छेहरुको नाम माथि राखेको र आफ्नो नाम तल राखेको भन्दै क्यालेन्डर च्यात्नु भएको रहेछ’, प्रमरी प्रमुख मल्लले भने‘ त्यही विषयमा आज अध्यक्षले हातपात गर्नुभएको रहेछ ।’