तुलसीपुर,७ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोकालागि ट्याङ्की, बाउजर ल्याईसकिएको छ, भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । नेपाल आयल निगमका इन्जिनियर विभागका निर्देशक सुरज शाहका अनुसार ट्याङ्की ३० हजार लिटरको भएपनि अहिले २० हजार लिटर मात्रै ट्याङकीमा राखिएको छ । गएको बर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो ।
भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणको पुगेको भएपनि प्राबिधिक जाँचको काम बाँकी रहेकाले प्राबिधिक जाँच भएपछि मात्रै सञ्चालनमा आउने उहाँको भनाई छ । न्यू ड्राइभन एमसी फाल्गुनान्दले करिब डेढ करोड लागतमा निर्माणको जिम्मा लिएको थियो ।
इन्धन डिपो नहुँदा काठमाडौंबाटै इन्धन बोकेर ल्याउनु पर्ने अबस्था थियो । यात्रु बस्ने सीटमा राखेर इन्धन ल्याउनु पर्ने अबस्था भएकाले पनि भाडा महंगो पर्न जाने गरेको थियो, अब भने केही सस्तो हुने अपेक्षा गरिएको छ ।“एयरपोर्टमा १९ सिटे जहाज बस्छ, तर, काठमाडौंबाट दाङ आउँदा १२ जना मात्रै यात्रु बोकेर आउनु पर्ने अबस्था छ, बाँकी सिटमा इन्धन ल्याउनु पर्छ”,उहाँले भन्नुभयो“अब भने यो समस्या अन्त्य हुनेछ, यसले हवाई भाडामा पनि कमी आउनेछ ।”
टरिगाउँ विमानस्थलमा अहिले सातामा पाँच दिन जहाँज संचालन हुने गरेको छ । शुक्रबार र शनिबारबाहेक अन्य दिन नियमित उडान हुने गरेको छ । विस २०११ सालमा टरिगाउँ विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो विमानस्थल विभिन्न समयमा बन्द हुँदै संचालन हुने गरेको छ । विमानस्थलमा ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको छ । यसलाई बढाउनु पर्ने माग रहदै आएको छ । पटक–पटक यस क्षेत्रका ब्यबसायीहरुले धावनमार्ग विस्तारकालागि डेलिगेशन जानेदेखि बिभिन्न दवावमुलक कार्य गर्दै आएका छन् ।
लाइभदाङ । ७ श्रावण २०७९, शनिबार १९:०९ बजे