मन्त्री मास्कीको नेतृत्वमा देउखुरीको जग्गा फुकुवा प्रक्रिया अघि बढ्यो

दीपक बोहरा
तुलसीपुर,२८ वैशाख ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नकालागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदले मन्त्री मास्कीलाई जग्गा फुकुवाकालागि अध्ययन गर्न जिम्मा तोकेको हो । राप्ती उपत्यकामा स्थायी राजधानी तोकिएपछि त्यहाँ जग्गा रोकिएको थियो । तर, जग्गा फुकुवा नगर्दा त्यहाँका नागरिकको जीवन निर्वाहमा नै समस्या हुने गरेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका थिए ।

यो विषयमा अनुसन्धान गर्न मन्त्री मास्कीले नेतृत्व पाएपछि आन्दोलनरत पक्षसंग छलफल गर्नुभएको थियो । छलफल पछि एक महिना भित्रमा जग्गा फुकुवा गर्ने गरि आफूले प्रतिवेदन तयार गरेर मन्त्रीपरिषदमा लिने निणर्य गरेपछि आन्दोलनरत पक्षले पनि आन्दोलन फिर्ता लिएका छन् । १० दिन देखि स्थानीयले रिले अनशन जारी राखेका थिए । त्यो आन्दोलन फिर्ता भएको मन्त्री मास्कीले बताउनुभयो ।“एक महिनाभित्र जग्गा फुकुवाकालागि मैले प्रतिवेदन तयार गरेर मन्त्रीपरिषदमा लिन्छु’,उनले भने‘त्यसपछि जग्गा फुकुवाको काम अघि बढ्छ ।”


लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिना देखि जग्गा रोक्का थियो । लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापन सहित उद्योग, व्यापार सञ्चालनमा जटिल समस्या देखापरेको थियो । त्यस्तै अंशबन्डा, किनबेच तथा बैंक एवम् वित्तिय संस्थाहरूबाट समेत कुनै प्रकारको ऋण लिन समस्या भएको छ । लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पुरै ९ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा त्यसै गरि सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा रोक्का गरिएको छ ।