जीर्ण घरमा बास

दाङ,५ बैशाख ।
एकातिरबाट भत्किनै लागेको खरले छाएको जीर्ण घर । भित्र घाम र पानी छिर्छ । त्यही रोक्न पाल टाँगिएको छ । त्यो पाल पनि च्यातिएर झिला–झिला परेको छ । त्यही घरमा रात दिन बिताए, तुलसीपुर उपमहानगरपालिका वडा नंं.१ निवासी ८९ वर्षीय चक्रपानी उपाध्यायले । आर्थिक अवस्था कमजोर भएकाले लामो समयदेखी उपाध्याय र उनका छोराको बास त्यही घरमा हुने गरेको छ । घरमा टिनको छाना राख्न सक्ने आर्थिक हैसियत नभएकाले यस्तो घरमा बस्न बाध्य भएको उपाध्यायले बताए । “घर कहिले भत्किने हो थाहै छैन, टिन राख्न सक्ने आफ्नो हैसियत छैन”,उनले भने ।

२००९ सालमा बनेको त्यो घरमा अहिले उनका छोरा ५३ वर्षीय खिमप्रसाद उपाध्याय पनि बस्नु हुन्छ । उनीहरू त्यो घरमा २०२२ सालदेखि बस्न थालेका थिए । उनीहरूले २८ वटा गाई पालन गरेका छन्  । त्यहीबाट आम्दानी गर्ने गरेको भएपनि गाई हेरचाह गर्ने मानिस पनि छैनन् । अहिले चक्रपानीको बृद्धभत्ता पनि आम्दानीको एउटा स्रोत हो । तर, त्यो ल्याउनकालागि बजार जानु पर्छ । बजार पुग्नकालागि पनि सहज बाटो छैन । सडक सञ्जाल नहुँदा हिडेर बजार पुग्नु पर्ने उपाध्यायले बताए ।


उनीहरूको यस्तो अवस्था देखेपछि आफूले घर छाउनकालागि जस्ता पाता दिने तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन् ।“अवस्था निकै दयनिय रहेछ”,उनले भनिन् “यो अवस्था सुधार गर्नकालागि हामी उपमहानगरपालिकाबाट टिन उपलब्ध गराउछौं ।” न्यून आय भएकाहरूलाई जस्तापाता दिने आफ्नो नीति भएको भन्दै सोही अनुसार प्रदान गर्ने उनको भनाई थियो । साभारः अग्रिम साप्ताहिक